विदेशबाट आउने कल भित्राउन आइएलडी गेटवे नराखी भिओआइपी उपकरण राखेर अवैध आउने कललाई नियन्त्रण गर्न गठित कार्यदलले प्राधिकरणलाई यस्तो सुझाव दिएको हो । विदेशमा कल पठाउन र भित्राउन आइएलडी गेटवे राख्नुपर्छ । नेपालमा रहेका दुरसञ्चार कम्पनीहरुले मात्र आइएलडी गेटवेको लाइसेन्स लिएका छन्।
आइएलडी नराखी विदेशबाट आएको कल भिओआइपी मार्फत अवैध रुपमा भित्राउने कार्यले सरकार र नेपालका दूरसञ्चार कम्पनीको करोडौ रुपैयाँको आम्दानी नोक्सानी भैरहेको छ।
कल बाइपासमा संलग्न व्यक्ति वा समूहले उच्चगतको इन्टरनेट सेवा जडान गरेर बाहिरबाट नेपाल आउने कल ल्याउने गर्छन्। भिओआइपी गेटवे हुँदै विदेशबाट आएको त्यस्तो कललाई सम्बन्धित ग्राहकको टेलिफोनमा पुर्याइन्छ।
अन्तर्राष्ट्रिय दुरसञ्चार सेवा प्रदायकहरुले नेपालका टेलिफोन कम्पनीको गेटवे हुँदै नेपालमा कल पठाउँदा महंगो शुल्क तिर्नुपर्छ। यसले गर्दा विदेशी कम्पनीहरुले अवैध रुपमा भिओआइपी सेवा चलाइरहेका कम्पनीमार्फत कल नेपालमा पठाउने गर्छन।
भिओआइपीमार्फत् विदेशबाट आउने टेलिफोन कलको अवैध माध्यमबाट आएर अत्यधिक चूहावट भएपछि प्राधिकरणले उपनिर्देशक सन्तोष पौडेलको संयोजकत्वमा कार्यटोली गठन गरेको थियो । यो टोलीमा हाल टेलिफोन सेवा चलाइरहेका चारवटै कम्पनीहरु र इन्टरनेट सेवा प्रदायक संघको प्रतिनिधित्व छ ।
यो टोलीले हालै प्रारम्भिक प्रतिवेदन बूझाएको छ । प्रतिवेदनमा भिओआइपी कल बाइपास नियन्त्रण गर्न सेवा प्रदायक र दुरसञ्चार प्राधिकरणले गर्नूपर्ने कार्यहरुको बारेमा सूझाव पेश गरिएको छ ।
'टोलीले ५ सय १२ किलोबाइट्स प्रतिसेकेण्डभन्दा बढी स्पीडको इन्टरनेट सेवा लिने ग्राहकको विवरण प्राधिकरणमा पेश गर्नुपर्ने, इन्टरनेट मार्फत साइबर क्याफेबाट हुने अन्तर्राष्ट्रिय कल रोक्नुपर्ने सुझाव दिएको छ,' कार्यदलका एक सदस्यले भने।
भिओआइपीमार्फत् आएको कल सर्वसाधारणले सजिलै चिन्न सक्ने आधार भनेको विदेशबाट आएको कलमा नेपालको नम्बर देखिनु हो । त्यस्तै आवाजको गूणस्तर समेत अत्यन्तै कमजोर हुन्छ ।
एक जनाको नाममा धेरै टेलिफोन जडान भएको स्थानमा पनि विगतमा कल बाइपास भएको देखिएकोले एक जनाको नाममा एक भन्दा बढी टेलिफोन दिन बन्द गर्नूपर्ने पनि सूझाव कार्यदलले दिएको छ ।
उच्चगतिको इन्टरनेट समेत बिना आधार वितरण गर्न नहुने सूझाव दिइएको छ । 'हामी अझै सुझावलाई परिमार्जन गर्ने तयारीमा छौं,' सदस्यले भने ।
कल वाइपासले गर्दा सरकार, दुरसञ्चार कम्पनीहरुको आम्दानी घटिरहेको छ । पछिल्लो समयमा आइएसडी कलबाट नेपालका दुरसञ्चार कम्पनीले पाउने आम्दानी ठुलो मात्रामा घटेको छ । यसो हुनुमा बाहिरबाट आउने कलमध्य अधिकांश कल बाइपास हूने गरेकोले हो ।
यसबाट सेवा प्रदायकको वाषिर्क ४० देखि ५० करोड रुपैयाँको व्यापारमा घाटा पुगेको छ भने सरकारको राजश्व १५ करोड रुपैयाँ गुमेको छ।
प्रकाशित: १२ भाद्र २०६६ २२:५४ शुक्रबार





