नेपाली कांग्रेसका १२ जिल्ला सभापतिले वर्तमान अवस्थामा विशेष महाधिवेशनको वातावरण नबनेको निष्कर्ष निकाल्दै पार्टीलाई विभाजनबाट जोगाउन नेतृत्वलाई आग्रह गरेका छन्।
धादिङ, मोरङ, दोलखा, नुवाकोट, खोटाङ, चितवन, कालिकोट, रुपन्देही, दैलेख, पाँचथर, बाजुरा र पश्चिम नवलपरासीका जिल्ला सभापतिहरूले संयुक्त वक्तव्य जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
वक्तव्यमा १५ औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्म गर्ने कार्यतालिका पुस १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय भइसकेको स्मरण गराइएको छ। नियमित महाधिवेशनको प्रक्रिया निरन्तर रहेको र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहमा मात्रै रहेको संवैधानिक व्यवस्था पनि उनीहरूले उल्लेख गरेका छन्।
जिल्ला सभापतिहरूले विशेष महाधिवेशनका लागि उपयुक्त राजनीतिक र संगठनात्मक वातावरण नरहेको भन्दै केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताका लागि संवाद र वार्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। पार्टी विभाजनको जोखिम टार्न नेतृत्व गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ।
उनीहरूले कांग्रेस अन्य भेला तथा समारोहमा अलमलिनुभन्दा संविधानको संरक्षण र मुलुकलाई राजनीतिक निकास दिन थप जिम्मेवार भूमिका निर्वाह गर्दै फागुन २१ गते हुने निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुनुपर्ने मागसमेत गरेका छन्।
यसैबीच, संस्थापन पक्षभित्रै सहमति नबनेको अवस्थामा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन भने भोलिदेखि सुरु हुँदै छ। विशेष महाधिवेशनको विपक्षमा संयुक्त वक्तव्य जारी गर्ने यी जिल्ला सभापतिहरू सभापति शेरबहादुर देउवा तथा इतर पक्षका नेता डा. शेखर कोइरालानिकटका मानिन्छन्।
प्रकाशित: २६ पुस २०८२ १४:५७ शनिबार





