नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय हितको रक्षा र प्रवर्द्धनमा काम गर्न नसकेको आरोप लगाएका छन्।
शनिबार ललितपुरको एकान्तकुनास्थित पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारको फितलो परराष्ट्र नीतिका कारण मुलुकको स्वाधीनतामाथि चुनौती थपिएको बताएका हुन्।
अध्यक्ष ओलीले नेपालको परराष्ट्र नीतिको मूल आधार ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ हुनुपर्नेमा वर्तमान सरकारले सन्तुलन गुमाएको टिप्पणी गरे।
उनले भने, ‘सरकारले राष्ट्रिय हितमा अडान लिन सकेको छैन। असंलग्न परराष्ट्र नीतिको सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्दा शक्ति राष्ट्रहरूको अस्वस्थ प्रतिस्पर्धाको प्रभाव नेपालमा पर्ने जोखिम बढेको छ।’
मुलुकको आन्तरिक मामिलामा बाह्य पक्षको चलखेल बढ्दा पनि सरकार मूकदर्शक बनेको ओलीको भनाइ छ। कुनै पनि देशको घरेलु मामिलामा बाह्य हस्तक्षेप स्वीकार्य हुन नसक्ने भन्दै उनले सरकारले कूटनीतिक मामिलामा परिपक्वता देखाउन नसकेको जिकिर गरे।
‘हाम्रो सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताका विषयमा सरकारले दह्रो खुट्टा टेक्न सकेन,’ ओलीले भने, ‘यसले गर्दा नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयतामा समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।’
अध्यक्ष ओलीले वर्तमान सरकार संविधानको मर्मअनुसार नचलेको आरोप समेत लगाए।
जननिर्वाचित संस्थाहरूलाई कमजोर बनाएर संविधान बाहिरबाट सत्ता अभ्यासको प्रयास भइरहेको भन्दै उनले यस्तो प्रवृत्तिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई समेत खलल पुर्याउने चेतावनी दिए।
‘यो सरकार न राष्ट्रिय हितमा केन्द्रित छ, न त जनजीविकाका सवालमा नै गम्भीर देखिन्छ,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘त्यसैले अब एमालेले नै राष्ट्रियताको पहरेदारका रूपमा आफूलाई उभ्याउनुपर्छ।’
प्रकाशित: २६ पुस २०८२ १४:४७ शनिबार





