काठमाडौं, पुस ३ (नागरिक)- अनलाइनमार्फत विभिन्न सामग्री बेच्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले हाम्रोबजार डटकमका राजीव श्रेष्ठलाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हराएको बाइक खोजी दिने भन्दै ब्लु बुक लिएर ठग्ने गरेको आरोप उनीमाथि छ।
विभिन्न इलेक्ट्रोनिक सामग्रीसँगै गाडी र बाइकसमेत बेच्न सन् २००५ मा प्रणय श्रेष्ठको नाममा हाम्रोबजार डटकम दर्ता गरी राजीवले अनलाइन सेवा सुरु गरेका थिए। वर्गीकृत विज्ञापन शैलीमा सामग्रीको तस्बिर र त्यसको मूल्य राखेर उनले 'ब्रोकर'को काम गर्दै आएका थिए।
महाशाखा प्रमुख उपेन्द्रकान्त अर्यालका अनुसार उनले हराएको बाइकको तस्बिर बेवसाइटमा राखेर खोजी गर्ने आश्वासन दिँदै बाइकधनीलाई ब्लु बुक बेच्न दबाब दिँदै आएका थिए। उनले प्रति ब्लु बुक १० हजार दिने प्रस्ताव गर्दै आएका थिए।
महाशाखाका अनुसार 'तपाईको हराएको बाइकको ब्लु बुक के काम' भन्दै श्रेष्ठले पीडितसँग ब्लु बुक किन्ने गरेका थिए। ब्लु बुक बेच्न पटकपटक दबाब आएपछि बाइकधनी महाशाखाको सम्पर्कमा पुगेका थिए। हाम्रो बजारमा मोटरसाइकलको विवरण टिपाएका न्यौपाने थरका एक व्यक्तिले श्रेष्ठले 'मोटरसाइकल पाइएन, अब ब्लु बुकै बेच्नुस्' भन्दै बारम्बार फोन गरेर हैरान बनाएपछि महाशाखामा उजुरी दिएका थिए।
उजुरीको आधारमा सादा पोसाकमा खटिएका महाशाखाका प्रहरीले सोमबार श्रेष्ठलाई पक्राउ गरेको हो। हराएको बाइक खोजी दिने बहानामा विवरण संकलन गर्ने र ब्लु बुक किनेर बाइक आफ्नो स्वामित्वमा ल्याई बेच्ने गरेको खुलेको छ।
ब्लु बुक बेच्न श्रेष्ठले एसएमएस गरेर हैरान बनाएका ठिमीका अर्का पीडित पनि सम्पर्कमा आएका महाशाखाले जनाएको छ। महाशाखाले श्रेष्ठलाई सोमबार ठगी अभियोगमा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी अपराध महाशाखामा बुझाएको छ।
प्रकाशित: २ पुस २०६९ १२:३१ सोमबार





