नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिनु र अमेरिका प्रक्रियामा मुद्दा चलाउनु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र बडापत्र र पञ्चशीलको विपरीत भएको भन्दै यसप्रति पार्टीको विरोध व्यक्त गरेको जनाएका छन्।
पार्टी केन्द्रीय कमिटी बैठकमा उनले विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति पुष्टि गरे।
त्यस्तै, उनले युक्रेनको भौगोलिक अखण्डता सम्बन्धी छलफल, ग्रिनल्याण्ड नियन्त्रण प्रयास र गाजा–वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतिमाथिको ज्यादतीप्रति गहिरो आपत्ति व्यक्त गरे।
अल्पसङ्ख्यक समुदायमाथिको हमलाप्रति चिन्ता प्रकट गर्दै बङ्गलादेशको परिस्थिति सुधार्न ध्यानाकर्षण गराइरहेको उल्लेख गर्दै म्यान्मारमा लोकतन्त्र शीघ्र बहाल हुनुपर्ने मागसमेत ओलीले राखे।
ओलीले भने, 'विश्व राजनीति अस्थिर, पूर्वानुमान गर्न कठिन र जोखिमपूर्ण बन्दै गएको छ, नियममा आधारित प्रणाली निष्प्रभावी हुँदैछ, बहुपक्षीयता र अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदैछन्, शक्ति राष्ट्रबीचको अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ।'
उनले हालसालै देखिएका घटनाहरूको उदाहरण दिँदै भने, 'कुनै सार्वभौम राष्ट्रका नेताहरूमाथि हत्या धम्की, अपहरण, आतङ्कवादका आक्रमण, निर्दोष नागरिकको नरसंहार, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको सामरिक प्रयोग, जलवायु सङ्कटजस्ता चुनौतीहरूले मानव जातिको अस्तित्वमै खतरा पैदा गरेका छन्।'
प्रकाशित: २६ पुस २०८२ १५:३८ शनिबार





