इन्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) ले मे २००० मा सार्वजनिक गरेको 'सूचनामा विश्वव्यापी पहुँच' शीर्षकको अध्ययनमा यो घटना समेटिएको छ। यो घटनाको झण्डै १५ वर्षपछि इन्टरनेटको पहुँच जुम्लाका गाउँसम्म पुगिसकेको छ। कम्प्युटरभन्दा मोबाइलको माध्यमले गाउँगाउँमा इन्टरनेट पुगेको हो।
अहिले हाम्रो समाजमा समेत फेसबुक भनेको साथी, गुगल भनेको गुरु र टि्वटर भनेको चराचुरुङ्गीको चिर्बिराहटजस्तो भएको छ। इन्टरनेटबाट आएका यी पछिल्ला माध्यमलाई अचेल नयाँ मिडियाका रूपमा ग्रहण गरिएको छ।
यिनलाई सोसल मिडिया अर्थात सामाजिक सञ्चार माध्यम भन्ने गरिएको छ। मिडिया आफैंमा सामाजिक वा असामाजिक हुँदैन। ती माध्यममात्र हुन्। त्यसकारण पछिल्लो पटक इन्टरनेटको माध्यमबाट आएका यी माध्यमलाई न्यू मिडिया मान्न सकिन्छ। भोलि अरू नयाँ मिडिया आएपछि यी पनि पुराना वा परम्परागत बन्छन्।
नयाँ मिडिया मात्र प्रयोग गरेर पत्रकारिता गर्न सकिन्छ/सकिन्न? हाम्रा काममा यसको प्रभाव कति परेको छ भन्ने थाहा पाउन भदौ २२-२४ सम्म यो पंक्तिकारसहित पाँच पत्रकार केशब कोइराला (द हिमालयन टाइम्स), रजनीश भण्डारी (कान्तिपुर टेलिभिजन), अरुण राई (रिपब्लिका) र विनु सुवेदी (सामुदायिक सूचना सञ्जाल) न्यु मिडिया गुफा बस्यौं। हाम्रा गतिविधि र व्यवहार मिडिया विश्लेषक धर्म अधिकारीलगायत तीन जनाले निरन्तर अवलोकन र अध्ययन गरेका थिए।
काठमाडौं ठमेलस्थित होटल मण्डपको मुख्य रेस्टुराँको कुनालाई सांकेतिक गुफाजस्तो बनाइएको थियो। तीनतिरबाट कालो कपडा सजाइएको गुफामा प्रवेश गरेपछि आपसमा कुरा गर्न निषेध थियो। एकातिर नयाँ माध्यमको प्रयोगबाट सूचना संकलन गरिरहेका थियौं भने अर्कोतिर ऋषिमुनीले जस्तो मौनताको अभ्यास।
पहिलो पटक गुफा प्रवेश गरेपछि खलबली सुरु भयो। अब के गर्ने? अगाडि बसेका साथीलाई इमेल लेखेँ, 'होइन साथी हो, हामीले कुन एजेन्डामा छलफल गर्ने?' झण्डै दुई घण्टा इन्टरनेट सर्फिङ गरेरै बित्यो। समाचार पढेँ। कुनै एजेन्डा छन् कि भनेर खोजेँ।
दुई घण्टापछि धर्मको इमेल आयो, 'मेरो कम्प्युटरबाट आजको एजेन्डा गएनछ। गुफाबाट एकैछिन माथि वासस्थान (डेन) जाऔं र ठूल्ठूलो स्वरमा हाँसौं।'
हामीलाई गुफामा ७२ घण्टा बिताउनु थियो। त्यसका लागि हामीसँग एजेन्डा पनि भयो। यो एउटा रमाइलो खेलजस्तो भयो। गुफामा जाने, मौन भएर काम गर्ने। भोक लाग्नासाथ खाने। निरन्तर इन्टरनेट, कम्प्युटर वा मोबाइल सेटबाट काम गरिरहनु पर्ने।
पहिलो दिन हामीले पाँचजनाका निम्ति समाचार संकलनको विषय तय गर्नु थियो। सबैले कम्तिमा तीनवटा विषय खोज्नुपर्ने। पाँचजनाबाट १७ समाचार एजेन्डा प्रस्तुत भए। त्यसमध्ये पाँचवटा छान्न झण्डै पाँच घण्टा लामो छलफल भयो।
पाँच भिन्न ठाउँबाट आएका पत्रकार भए पनि यहाँ एउटा समाचार कक्षजस्तो थियो। त्यसमा अनुसन्धान टोली समेतको उपस्थितिमा भएको छलफल बहुआयामिक थियो। कुनै पनि समाचारको विषयमा यति धेरै छलफल हुने हो भने त्यसले पक्कै राम्रो परिणाम दिन्छ। यस छलफलको पाठ के हो भने समाचार कक्षमा हुने प्रजातान्त्रिक छलफलले सञ्चार माध्यमका निम्ति गुणस्तरीय सामग्री संकलनमा मद्दत गर्ने रहेछ।
छलफलको अर्को विशेषता के थियो भने सहभागी कसैले पनि आफ्नो विषयमा समाचार संकलन गर्ने मौका पाएनन्। पाँच विषय तय भएपछि त्यसलाई गोलाप्रथाबाट छान्ने काम भयो। सगरमाथामा वातावरण परिर्तन (केशव), वैदेशिक रोजगारीको सामाजिक मूल्य (रजनीश), साना शहरका सडक बालबालिका (अरुण), कर्णालीमा चामलको विकल्प (विनु) र ग्रामीण नेपालमा इन्टरनेटको पहुँच (पंक्तिकार) को भागमा पर्यो।
विषय छनोटपछि चाहिने स्रोत व्यक्ति र पृष्ठभूमिको खोजी सुरु भयो। कसैलाई पनि टेलिफोनबाट सोध्न नपाइने भएकोले इन्टरनेटबाट उपलब्ध हुने नयाँ मिडियालाई मात्र प्रयोग गर्न पाइने पूर्वसर्त थियो।
हामी सबैले फेसबुक, टि्वटर, स्काइप, इमेल र अन्य एप्लिकेसन प्रयोग गर्न थाल्यौं। सबैले कम्तिमा तीन जना स्थानीय स्रोत खोज्नैपर्ने थियो। त्यसबाहेक एकजना विशेषज्ञ र एकजना व्यवसायिक व्यक्तिको अन्तर्वार्ता नगरी समाचार पूरा हुने थिएन। कम्तिमा तीनटा आधिकारिक संस्थाका अनुसन्धान वा आवश्यक सामग्री इन्टरनेटकै माध्यमबाट खोज्नु थियो।
अन्य सञ्चार माध्यममा छापिएका वा अचेल धेरैले हेर्ने गरेका विकिपिडियाजस्ता सामग्रीलाई पनि स्रोत बनाउन नपाइने थियो। समाचारको आधिकारिकताका निम्ति अन्य सञ्चार माध्यममा आएका सामग्रीलाई समेत पुनः परीक्षण गर्नैपर्छ। त्यसमा पनि विकिपिडियाका सामग्री हरेक व्यक्तिले अद्यावधिक गर्न सक्ने भएकाले आधिकारिक नहुन सक्छन् भन्ने पुष्टि भइसकेको छ।
स्रोत र सामग्रीको खोजीमा हाम्रो समय छिटो जान थाल्यो। छलफल व्यापक भएका राति सुत्नै ढिला भयो। त्यो ज्ञानको खोजी र तथ्य पत्ता लगाउने चुनौती थियो। यसलाई 'रिपोर्टिङ च्यालेन्ज'का रुपमा लिइएको थियो, 'राइटिङ च्यालेन्ज' होइन। रिपोर्टिङ च्यालेन्जलाई राम्ररी सामना गर्न सकियो भने राइटिङ च्यालेन्ज सहजै पूरा हुन सक्ने रहेछ।
दुर्गम क्षेत्र, त्यसमा पनि कर्णालीका स्थानीय स्रोतलाई फेसबुक वा स्काइपको माध्यमले अन्तर्वार्ता गर्न गाह्रो छजस्तो थियो। मेरा निम्ति भने यो असाध्यै सहज बन्न गयो। मैले स्काइप डाइरेक्ट्रीमा गएर जुम्ला टाइप गरी खोज्दा झण्डै दर्जन व्यक्तिले आफू बसोबास गरेको शहर जुम्ला उल्लेख गरेका थिए। तिनको सम्पर्कलाई विश्लेषण गर्दै कुरा गर्न चाहेको सन्देश पठाएँ।
तीमध्ये केही अनलाइन आए र कुराकानी भयो। अझ विनुको अनुभव अत्यन्तै आश्चर्यलाग्दो भयो। उनले कर्णालीका सबैजसो जिल्लाका व्यक्तिलाई फेसबुकमै च्याट गरेर अन्तर्वार्ता लिन सकिन्। पछि अध्ययन निम्ति काठमाडौंमा बसेका व्यक्तिलाई अन्तर्वार्ता गर्न बरु कठिन भयो। उनले भनिन्, 'सम्पर्क गर्न त काठमाडौंका मानिसलाई पो गाह्रो।'
सरकारले झण्डै १८ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा छन् भनेको छ। विश्व वैंकको हालैको एउटा तथ्यांकले यो ७.९ प्रतिशत रहेको उल्लेख छ। म्यागासेेसे पुरस्कार विजेता महावीर पुनसँग यो जिज्ञासा राख्दा वास्तविक इन्टरनेट प्रयोगकर्ता पाँच प्रतिशतभन्दा कम हुन सक्ने बताए।
अहिले धेरैजसो जिल्ला सदरमुकाममा इन्टरनेट पुगिसकेको छ। त्यो गाउँमा भने पुग्न सकेको छैन। जुम्ला सदरमुकामका चन्दननाथ र कात्तिक स्वामी गाविसमा बाहेक अन्यतिर इन्टरनेट पुगेको छैन। इन्टरनेट केबल मोबाइलका माध्यमले मात्र पुगेको छ।
मोबाइल इन्टरनेट प्रयोगका निम्ति प्रयोग भएको जिपिआरएस प्रणाली कमजोर छ। काठमाडौंको थि्रजीले समेत भनेजस्तो सन्तुष्टि दिँदैन। काठमाडौं बाहिर जिपिआरएसबाट मोबाइलमा इन्टरनेट सर्फिङ सहज छैन। तैपनि गाउँगाउँमा मोबाइल माध्यमले फेसबुक अपडेट गर्नेसम्म काम भइरहेको छ। इन्टरनेटकै लागि गाउँलेले दुईतीन वटासम्म मोबाइल राख्न थालेका छन्।
गाउँमा वायरलेस पुर्याएर चमत्कार गरिरहेका महावीरले गाउँलेलाई इन्टरनेट चलाउन र इमेल पठाउन सिकाएर कुनै फाइदा छैन, बरु यसको प्रयोग शिक्षा र स्वास्थ्यका लागि हुनुपर्ने बताए। हेल्प नेपाल नेटवर्कले गाउँगाउँमा इलाइब्रेरी बनाउन थालेको छ। त्यसैमा काम गरिसकेका ज्वलन्त श्रेष्ठ यतिबेला अध्ययनको सिलसिलामा अमेरिका पुगिसकेका रहेछन्। उनीसँग समेत स्काइपको माध्यमबाट कुरा भयो।
जिपिआरएस राम्ररी नचलेकै कारण गाउँका यस्ता पुस्तकालयमा अफलाइन सामग्री कम्प्युटरमा राख्नु परेकोसमेत ज्वलन्तले बताए। अफलाइन सामग्री लिएर जानुपर्ने भएपछि पक्कै पनि तिनले अद्यावधिक सामग्री पढ्न पाउने छैनन्।
गुफाको अन्तिम दिन रातिसम्म पनि हामी स्रोतसम्म पुग्न प्रयासरत थियौं। अन्त्यमा हामी सबैका निम्ति समय सुखद भयो। नयाँ माध्यम प्रयोग गरेर समाचार संकलन गर्न सकिने स्थिति आइसकेको रहेछ। थोरै जनसंख्याले मात्र यसको प्रयोग गर्दा पनि यस्तो छ भने यसको पहुँच बढ्दै जाँदा अझ सहज स्थिति बन्नेछ।
नयाँ मिडिया प्रयोगले जीवनलाई थप सहज बनाएको छ। थपिएका यी विकल्पले हाम्रो समाचार संकलनको तरिकामात्र परिवर्तन गरेका छैनन्, प्रकाशित र प्रसारित भइसकेका सामग्रीका निम्ति नयाँ माध्यमसमेत उपलब्ध भएका छन्। वास्तवमै समय बहुमाध्यम (मल्टिमिडिया) तर्फ आइपुगेको छ। कुनै नयाँ माध्यमले पुरानो माध्यमलाई चुनौती दिनेभन्दा पनि थप सहयोगी बन्ने स्थिति आउने रहेछ।
गुफायात्रा सकियो। आँखा र शरीर थाकेको थियो। मन असाध्यै खुसी। विकसित समाजमा संचार माध्यमले यस्ता प्रयोग र परीक्षण गरिरहेका हुन्छन्। हामी पनि एउटा प्रक्रियाको अंश बन्न पाएकामा पुलकित थियौं। नयाँ मिडिया गुफा हाम्रो समय संचारका हिसाबले कहाँ आइपुग्यो भन्ने बताउन सफल भयो।
हाम्रो नेटिजन निकै ठूलो भएको अनुभव भयो। अझ टि्वपलहरूले हामीलाई त्यहाँ बसुन्जेल हौस्याइरहे। जिज्ञासा पनि राखिरहे। कतिपयले हाम्रा विषयमा इन्टरनेटकै माध्यमबाट जानकारी दिए। तिनले आफ्ना राय पनि व्यक्त गरिरहेका थिए। लाग्यो, हामी मेसिनका माध्यमबाट धेरै अन्तरक्रिया गर्न थालेछौं। जुम्लामा कम्प्युटर स्त्रि्कनमा आफ्नो पत्र देखेर अझै मेल गएको छैन भनेर प्रश्न गर्ने भलादमीभन्दा समय धेरै अघि बढिसकेछ।
प्रकाशित: २९ भाद्र २०६९ २१:५६ शुक्रबार




