४ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

फेसबुकले बढायो साइबर कारोबार

बागलुङ, साउन ३१- लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको बढ्दो प्रयोगले साइवरमा कारोबार बढेको छ। बागलुङमा रहेका साइबरहरुमा पछिल्लो समयमा प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य रुपमा बढेको साइवर व्यवसायीले बताएका छन्।  

फेसबुकको प्रयोगले पछिल्ला वर्षहरुमा साइबरमा आउने ग्राहकहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको साइवर व्यवसायी सङ्घ बागलुङका अध्यक्ष सुनिल श्रेष्ठले बताए।

जिल्लामा रहेका २५ साइवरहरुमा अहिले दिनभर प्रयोगकर्ताहरु खचाखच रुपमा देखिन्छन्। "इन्टरनेटमा रहेर विदेशमा रहेका आफन्तसँग प्रत्यक्ष कुराकानी गर्नेहरु धेरै हुन्छन्" अध्यक्ष श्रेष्ठले भने- "तीमध्ये अधिकांशले त फेसबुक नै चलाउने गरेका छन्।"

एउटा साइबरमा दैनिक झण्डै १०० भन्दा बढी प्रयोगकर्ताहरु आउने गरेको श्रेष्ठ साइवरका सञ्चालक विकास श्रेष्ठले बताए। "यहाँ आउने सबैजसोले फेसबुक नै चलाउने गर्छन्, त्यसबाहेक अन्य विभिन्न साइटहरु हेर्न पनि आउने गरेका छन्" उनले भने।

विगतमा मुस्किलले १५/२० जना मात्र छिर्ने श्रेष्ठ साइवरमा अहिले दैनिक १०० भन्दा बढी प्रयोगकर्ताहरु आउने गरेको उनले जानकारी दिए। उनको साइवरमा दैनिक १० औं हजारको व्यापार हुने गरेको छ।

सूचना प्रविधिको विकाससँगै विशेषगरी युवापुस्ताहरु इन्टरनेटको प्रयोगमा अग्रसर बनेका हुन्। इन्टरनेट प्रयोगकर्ताहरु बढेपछि बागलुङमा साइवर खोल्ने क्रम पनि बढिरहेको छ।

तीन महिनाअघि एवन साइवर सञ्चालनमा ल्याएका बागलुङका रञ्जित क्षेत्रीले यसबाट राम्रो आम्दानी हुने गरेको बताए। दैनिक रुपमा साइबरमा रु ५ हजारजतिको कारोबार हुने गरेको क्षेत्रीको भनाइ छ।

साइवर व्यवसायीहरुले इन्टरनेट प्रयोगको मूल्य पनि बढाउने तयारी गरेका छन्। हाल प्रतिघण्टा रु ३० लिने गरेका व्यवसायीहरुले आगामी भदौ महिनाबाट रु ४० लिने भएका छन्। रासस

प्रकाशित: ३१ श्रावण २०६९ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App