३ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

सीडीएमएबाट उच्च गतिको इन्टरनेट

काठमाडौं, फागुन १४ (नागरिक) - नेपाल टेलिकमले सिडिएमए प्रविधिबाट उच्च गतिमा इन्टरनेट चलाउन सकिने सेवा शुक्रबार सुरु गर्ने भएको छ। इन्टरनेट इभोलुसन डाटा अप्टिमाइज (इभिडिओ) नामको प्रविधिबाट प्रतिसेकेन्ड दुई दशमलव चार मेगाबिट्सको गतिमा इन्टरनेट चल्ने टेलिकमले जनाएको छ।

सिडिएमएको रिमकार्डबाट पनि ग्राहकले इन्टरनेट चलाउन सक्छन्। तर, यसको गति निकै कम गतिको हुने भएकोले टेलिकमले उच्चगतिको इभिडिओ सेवा सुरु गर्न लागेको हो।
टेलिकमले पहिलो पटक काठमाडौं र पोखरामा इभिडिओ सुरु गर्न लागेको हो। यो सेवा लिनको लागि दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले बताए।
'दुईहजार पाँचसय रुपैयाँ तिरेर इभिडिओ सेवा लिएपछि दुईहजार रुपैयाँको डाटा प्रयोग गर्न पाइन्छ,' थिकेले भने। टेलिकमले रिमकार्डबाट इन्टरनेट चलाउँदा प्रति एकसय किलोबिट्सको २५ पैसा लिने गरेकोमा इभिडिओको प्रवर्द्धनात्मक महसुल १५ पैसा प्रति एकसय किलोबिट्स लगाउने भएको छ।

चैतसम्म प्रवर्द्धनात्मक रुपमा इभिडिओबाट इन्टरनेट चलाउँदा छुट दिइएको टेलिकमका एक अधिकारीले वताए। छिटो गतिको इन्टरनेट मात्र चलाउनेको निम्ति इभिडिओ ठिक हुने दावी टेलिकमले गरेको छ।

इभिडिओको रिमकार्डबाट फोन भने चलाउन मिल्दैन। सिडिएमएको स्काईफोनको रिमबाट फोन र इन्टरनेट चलाउन सकिएपनि इभिडिओको रिमबाट भने डाटा (इन्टरनेट) मात्र चल्ने थिकेले बताए।

बिहीबारबाट पोष्टपेडमा थ्रीजीः
टेलिकमले आउँदो बिहीबारबाट काठमाडौं र पोखरामा एकसाथ पोस्टपेड मोबाइलमा थ्रीजी सेवा वितरण गर्ने जनाएको छ।

अहिलेसम्म प्रिपेड मोबाइलमा मात्र रहेको थ्रीजी सेवा बिहीबार देखि पोस्टपेडमा पनि दिइने थिकेले वताए। थ्रीजी सेवा लिएका मोबाइलका ग्राहकले भिडिओ कुराकानी गर्न सक्छन्। यसबाट मोबाइलमा इन्टरनेट पनि चलाउन मिल्छ।

थ्रीजीबाट भिडिओ कुराकानी गर्दा प्रति मिनेट कर समेत जोडा पाँच रुपैयाँ महसुल लाग्छ। थ्रीजी सुरु हुँदा प्रति मिनेटको साढे १२ रुपैयाँ महसुल लाग्थ्यो। अहिले थ्रीजी प्रिपेडबाट भिडिओ कुराकानी गर्दा मिनेटको ६ रुपैयाँ २० पैसा लाग्छ।

थ्रीजीबाट इन्टरनेट चलाउँदा प्रति एकसय किलोबिट्सको २५ पैसा लाग्छ।

अहिले रहेका पोस्टपेड मोबाइलका ग्राहकले थ्रीजी चलाउन सिमकार्ड परिवर्तन गर्नुपर्छ। 'भैरहेका पोस्टपेडका ग्राहकले पाँचसय ६५ रुपैयाँ तिरेर पुरानै नम्बरको सिमकार्ड पाउँछन्,' मोबाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्यले भने। यसो गर्दा पुरानो नम्बर भने परिवर्तन गर्नु नपर्ने उनले बताए।

नयाँ पोस्टपेड थ्रीजी लिनको लागि चार हजार एक सय ३० रुपैयाँ तिर्नुपर्छ। यसमा तीन हजार रुपैयाँ बराबरको कुराकानी गर्न सकिन्छ।

प्रकाशित: १४ फाल्गुन २०६६ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App