प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयक २०७६ पेस गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बुधबार विधेयक प्रदेशसभामा पेस गरेका हुन्। ‘प्रदेश समृद्धिको आधारः श्रम, सिर्जना, उत्पादन र रोजगार’ भन्ने नारा राखिएको विधेयकमा २२ वटा सिद्धान्तका बुँदा र २८ वटा प्राथमिकताका बँुदा तोकिएको छ। १८ पेज लामो विधेयकमा कूल ६१ बुँदामा समेटिएका छन्। पर्यटन, उद्योग, वन, भौतिक पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिइएको विधेयकमा आन्तरिक तथा वैदेशिक लगानी नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ। भ्रष्टाचारमा शून्य सहनशीलता, समग्र शासन प्रणालीमा दण्डहीनताको अन्त्य गर्ने लक्ष्य लिएको सरकारले सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने समेत उल्लेख गरेको छ।