२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अझै अलमलमा साग पूर्वाधार

पोखरा - साग खेलकुदका लागि समय ६ महिना बाँकी छ। समय घर्किंदै गए पनि पूर्वाधार तयारी अवस्थामा छैन। बनाउनुपर्ने पूर्वाधार अहिले बजेट अभावले थाती छ। बजेटलाई आधार मान्ने हो भने काम गर्ने समय ४ महिना मात्रै बाँकी हुन्छ। बजेट नभएपछि सागका लागि भनिएको आर्चरी र बहुउद्देश्यीय कभर्ड हल भने मर्मतसम्भार हुन सकेको छैन। असारमा आर्थिक वर्ष सकिन्छ। साउन लागेपछि मात्रै नयाँ बजेट विनियोजन हुन्छ। मंसिरको दोस्रो साता हुने साग गेम्सको लागि पूर्वाधारतर्फ अहिलेदेखि नै ध्यान दिँदै तदारुकता देखाउन जरुरी रहेको खेलकर्मीको बुझाइ छ।
 
आर्चरीलाई पोखराबाहेक अन्यत्र खेलाउने सम्भावना कमै छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ९० लाख रुपैयाँ बजेट मागेको छ। समितिका अध्यक्ष सम्पन्न श्रेष्ठका अनुसार बजेट आएपछि आर्चरीका बाँकी काम पूरा गर्ने अठोट छ। साउनभित्रैमा बजेट उपलब्ध नभए पोखरा रंगशालाको आर्चरी मैदानमा सागका खेल खेलाउन सकिने विषयमा भने प्रश्न उठ्ने सम्भावना देखिने छ। मैदान सम्याउन माटो थुपारिएको छ। थुपारिएको माटो सम्याएपछि दुबो रोप्ने योजना कास्की जिल्ला आर्चरी संघको छ। अन्तर्राष्ट्रियस्तरको मैदान बन्न ४ महिनाको समय पर्याप्त नहुने खेलकुदकर्मीको ठम्याइ छ।

‘९० लाख रुपैयाँ मागेका छौं। आर्थिक वर्ष सकिएलगत्तै आइदिए काम गर्न सहज हुन्थ्यो,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने, ‘माटो सम्याएर दुबो रोप्ने मात्रै काम बाँकी छ।’ ४ महिनामा दुबो फैलिएर हरियाली बन्ने छाँटकाँट देखिँदैन। मैदान हरियालीका लागि चपरी बिछ्याउनुको विकल्प नहुने देखिन्छ। ‘दुबो रोप्दा ढिलाइ भए चपरी बिच्छ्याएर भए पनि मैदान चिटिक्क बनाउनुपर्छ,’ उनको भनाइ थियो, ‘हाम्रो प्रतिष्ठाको विषय हो, त्यसैले ढिलाइ आलटाल भने गर्नु हँुदैन।’

मैदानको लागि मागिएको ९० लाख रुपैयाँको बजेट अहिले पर्याप्त हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए। ‘बजेट समयमै आइदिएको अवस्थामा सबै काम टुंग्याउन सक्छौं ’ उनले भने,‘बजेट आउन ढिला भए काम गर्न कठिनाइ हुन्छ।’ उनका अनुसार माटो सम्याएर दुवो रोप्न आउने बजेटमा भर पर्छ।’ उनले चार महिना माटो सम्याएर दुबो रोप्न पर्याप्त हुने दाबी गरे। राष्ट्रिय खेलकुद परिषद्बाट विभिन्न मितिमा गरी २ करोड २४ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ। उपलब्ध गराएको बजेटले भौतिक संरचना निर्माण गरिएको छ। भौतिक संरचनासँगै जोडिएको टे«निङ गर्ने ट्रस समेत हालिएको छ। पानी परेको अवस्थामा खेलाडीले त्यही ट्रसमा टार्गेट राखेर प्रशिक्षण गर्दै आएका छन्।

नेपालकै ठूलो कभर्ड हल भने प्रयोगमा नआउँदै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ। १४ करोड ३० लाखमा सम्झौता गरिएको कभर्ड हलको लागत एक करोड ९५ लाख रुपैयाँ थप भएको छ। १६ करोड २५ लाखको लागतमा तयार भएको बहुउद्देश्यीय कभर्डहलको पोखरामा दैनिकजसो आउने हावाहुरीले फल्ससिलिङ खसेका छन्। तिनलाई फेरिहाल्नुपर्ने छ। त्यसो त सागअन्तर्गत केही खेल त्यही हलभित्र खेलाइने निर्णय गरिसकिएको छ। तर हलमा साउन्ड इको छ। इको हटाउने प्रविधि जडान गर्नुपर्छ। जमिन सिमेन्टेड छ, त्यसलाई पार्केटिङ गर्नुपर्छ। सिट छैन। त्यो पनि व्यवस्था गर्नुपर्छ। चार महिनामा ती सबै काम फत्ते गर्नुपर्ने एकातिर छ भने अर्कोतिर १३औैं दक्षिण एसियाली खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नुपर्ने दायित्व छ। ‘बजेट मागेका छौं। तर कहिले विनियोजन हुन्छ त्यसैमा भर पर्छ,’ समितिका अध्यक्ष श्रेष्ठको भनाइ थियो। उनका अनुसार नवांै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत अनुमान गर्दै बजेट माग गरिएको छ। अहिले सागको लागि तयार पारिएको पूर्वाधारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने बजेटको आवश्यकता भने नपर्ने विश्वास समितिले लिएको छ।

महिला फुटबलको लागि पनि फुटबल स्टेडियम तयार गर्न काम गरिएको छ। सम्झौताको समयअनुसार असार मसान्तभित्रमा राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गर्नुपर्छ। तर कामको मेलो भने असारमै हस्तान्तरण हुने गरी सरेको छैन। फुटबल मैदानको लेभलिङ गर्ने काम भइरहेको अध्यक्ष श्रेष्ठले बताए। १ अर्ब २८ करोडको योजना हो। परिषद््ले ५३ करोड रुपैयाँ विनियोजन गरेको थियो। स्टेडियमको काम भने भारतीय कम्पनी ग्रेट स्पोर्ट्स एन्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जे.भी)ले गर्दै आएका छन्। समयमै नसकिए पोखरामा आयोजना हुने ठूला प्रतियोगिता काठमाडौंमै सार्नुपर्ने बाध्यता रहन्छ। पोखरा रंगशाालाभित्रको आर्चरी मैदान। जहाँ आगामी मसिंर दोस्रो साता सागअन्तर्गतको आर्चरीको प्रतिस्पर्धा गराइने तयारी छ। तर मैदान तयार भइसकेको छैन। दुबो रोपेर ग्रिनरी बनाउने लक्ष्य कास्की जिल्ला आर्चरी संघले लिएको छ। तस्बिर नागरिक

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App