छैटौं खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएको छ।
कीर्तिपुरमा क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले बिहीबार चितवन राइनोजमाथि ४९ रनको जित निकाल्दै अपराजित यात्रा छैटौं खेलसम्म पनि कायमै राखेको हो। यो जितसँगै सुदूरपश्चिमले एक खेलअगावै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न पक्का गर्यो। यो जितले विराटनगर किङ्स पनि एक खेलअगावै प्लेअफमा पुग्न सफल भएको छ। यससँगै प्लेअफमा पुग्ने तीन टोली पक्का भएको छ।
यसअघि सुदूरपश्चिम र काठमान्डु गोर्खाज प्लेअफमा पुगिसकेका छन्। लुम्बिनी लायन्सबाहेक अन्य टोलीको आठ अंक नपुग्न भएपछि विराटनगर एक खेलअगावै प्लेअफमा पुगेको हो। समान एक खेल बाँकी छँदा अब एक स्थानका लागि लुम्बिनी, पोखरा एभेन्जर्स, चितवन र जनकपुर बोल्ट्सको सम्भवना देखिएको छ।
कर्णाली याक्स बाहेक सबैको प्लेअफका लागि गणीतिय सम्भवना देखिएको छ। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ७० रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। जबाफी ब्याटिङ गरेको चितवन १७.१ ओभरमा १२० रनमै आउट भयो। रवि बोपाराले २९ रन र देव खनालले २८ रन जोडे। यो नै सर्वाधिक ठूलो योगदान रह्यो। ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा नै रन बटुल्न सकेनन्। चुस्त फिल्डिङ गरेको सुदूरपश्चिमले तीन विकेट रनआउटबाटै लिँदै चितवनको कमजोरी ब्याटिङलाई दबाबमा पारेको थियो। यो हारसँगै चितवनले ६ अंक जोड्दै प्लेअफमा पुग्ने अवसर गुमाएको छ।
सुदूरपश्चिमको बलिङमा पुनित महराले तीन तथा दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बोहोरा र ईशान पाण्डेले समान एक विकेट लिए। ओपनर लिनको अर्धशतकमा सुदूरपश्चिमले पूरै ओभरमा चार विकेट गुमाउँदा एक सय ६९ रनको योगफल बनाएको थियो। लिनले ५६ बलमा ७५ रनको अधशतकीय इनिङ सुदूरपश्चिमले राम्रो योगफल बनाएको हो। १७औं ओभरको समाप्तीमा रिटायर्ट हर्ट भएका लिनले पाँच चौका र तीन छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनी र विनोद भण्डारीबीच ४६ रनको साझेदारी बन्यो। छैटौं ओभरमा विनोद २१ रनमा रन्जित कुमारद्वारा आउट भए।
विनोदले १७ बलमा दुई चौका र एक छक्का हिर्काए। तर, त्यसपछि आएका ईशान पाण्डे १ रन, पुनित मेहरा १३ र हरमित सिंह १ रनमा आउट भए। स्पिनर जैइबले इशान र पुनितलाई पभेलियनको बाटो देखाएका हुन्। तर, १२.५ओभरमा सुदूरपश्चिम ९२/४ को राम्रो स्थितिमा थियो। पाँचौं विकेटका लागि लिन र आरिफ शेखबीच ४५ रनको महत्वपूर्ण साझेदारी बन्यो। लिन रिटायर्ट भएपछि साझेदारी तोडिएको हो। आरिफ र दीपेन्द्रसिंह समान २४ रनमा नटआउट रहे। आरिफले १६ बलमा दुई चौका र एक छक्का हिर्काए। १४ बल खेलेका दीपेन्द्रको इनिङमा दुई छक्का रह्यो। चितवनको बलिङमा जैबले दुई तथा रन्जित र जर्ज स्कृमसअले समान एक विकेट लिए। रन्जितले चार ओभरमा १६ रन मात्र दिँदै किफायती बलिङ गरे।
प्रकाशित: १८ मंसिर २०८२ २०:०६ बिहीबार





