नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजले निकै खराब सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले इनिङको तेस्रो ओभर सुरु हुँदा नहुँदै आफ्ना ३ प्रमुख विकेट गुमाइसकेको छ।
चितवनले २.१ ओभरमा जम्मा ७ रन जोड्दा ३ विकेट गुमाएर संकटपूर्ण अवस्थामा पुगेको हो। पोखराका बलर धनन्जय लक्षणले चितवनको शीर्षक्रम ध्वस्त पारे।
इनिङको दोस्रो ओभर लिएर आएका धनन्जयले सो ओभरमा दुई विकेट लिए। उनले १.२ ओभरमा ओपनर अर्जुन साउदलाई १ रनमा बोल्ड गरे।
त्यसपछि सोही ओभरको अन्तिम बलमा स्टार खेलाडी डेविड मलानलाई ५ रनमा बोल्ड गर्दै चितवनलाई दोस्रो धक्का दिए।
दुई विकेट गुमाए लगत्तै तेस्रो ओभरको पहिलो बलमै विपिन खत्रीले रवि बोपारालाई पेभिलियनको बाटो देखाए। बोपारा १ रन बनाउँदै कुशल भुर्तेलबाट क्याच आउट भए।
अहिले क्रिजमा सैफ जैब आएका छन्। प्लेअफ दौडबाट बाहिरिइसकेको चितवनका लागि अन्तिम खेलमा ब्याटिङ लाइनअप सुरुमै धराशायी बनेको छ।
प्रकाशित: २० मंसिर २०८२ १५:४९ शनिबार





