उपाधि जित्ने लक्ष्य लिएको नेपाल अन्तिम समय समालिन नसक्दा साफ यु–२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग ३–२ को हार बेहोरेको छ।
चार राष्ट्र सहभागी डबल राउन्ड रोबिन लिगमा जारी च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन बंगलादेश र नेपाललाई उपाधि दाबेदारको रूपमा हेरिएको छ। तर, लिगको पहिलो भेटमा अन्तिम समयमा समालिन नसक्दा नेपालले घरेलु टोलीलाई नतिजा सुम्पिएको हो।
खेलको इन्जुरी समय सकिन लाग्दा नेपाल र घरेलु टोली २–२ को बराबरीतर्फ उन्मुख थिए। यद्यपि, थप गरिएको सात मिनेट सकिन केही सेकेन्ड बाँकी छँदा नेपाल समालिन सकेन। नेपाली डिफेन्डरले धैर्यता गुमाउँदा गोल बेहोर्न पुग्यो। बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्री मोती तृष्णा रानीले गोल गरे। नेपालको तर्पmबाट अनिशा राई र मीना देउवाले गोल फर्काए।
खेलको १४औं मिनेटमा नै नेपाल पछाडि पर्यो। सिन्हा शिखाको गोलबाट बंगलादेशले अग्रता लिएको हो। नेपाली डिफेन्डरले राम्रोसँग बल क्लियर गर्न नसक्दा घरेलु टोलीले त्यसको फाइदा लियो। पाँच डिफेन्डरका बीच बंगलादेशका दुई अग्रपंक्तिले गोल गर्न सफल भए। बंगलादेशका मुन्की अख्तर र सागोरिकाले वान टु पास खेल्दै गोल अवसर सिर्जना गरेका हुन्।
लेफ्ट साइडबाट मुन्कीले नेपालकी गोलकिपर सुजता तामाङलाई बिट गर्दै प्रहार गरेको बललाई डिफेन्डर गंगा रोकायाले गोललाइनबाट क्लियर गरिन्। तर, पेनाल्टी बक्समा नै सिन्हाले उक्त बललाई वान टच मार्फत जाली चुमाइन्। २८औं मिनेटमा नेपालको गोल गर्ने सुन्दर अवसरमा बार बाधक भयो। पेनाल्टी बक्सभन्दा नजिकबाट अनिशा राईको फ्रिकिक माथिल्लो बारमा ठोकिएर बाहिरिन पुग्यो।
३१औं मिनेटमा पनि मीना देउवाको लामो प्रहार सफल हुन सकेन। उनले बंगलादेशकी गोलकिपर स्वर्णरानी मण्डल अगाडि बढेको अवस्थामा प्रहार गरिन्। उक्त बल स्वर्णरानीले नै मुस्किलले बचाइन्। ३७औं मिनेटमा बंगलादेशले दोस्रो गोल गर्यो। लेफ्ट साइडबाट शान्ति मार्डीले गरेको क्रसमा पेनाल्टी बक्समा सिन्हाको वान टच नेपाली गोलकिपर सुजताको हातमा पुगेको थियो। तर, उनले त्यो बल नियन्त्रणमा लिन नसक्दा नजिकै रहेकी सागोरिकाले वान टचमार्फत गोल गरेकी हुन्। यससँगै पहिलो हाफमा नेपाल २–० ले पछाडि रह्यो। ७८औं मिनेटमा अनिशाा राईको पेनाल्टी गोलबाट नेपाल खेलमा फर्किने प्रयास गर्यो।
बंगलादेशकी बिबी रिताले पेनाल्टी बक्समा मीना देउवालाई लडाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको हो। ८२औं मिनेटमा मीनाको प्रहार बारमा ठोकिन पुग्यो। मध्य भागबाट आएको बललाई मीनाले पेनाल्टी बक्सभित्र नियन्त्रणमा लिँदै गरेको प्रहार क्रस बारमा लागेर बाहिरिन पुग्यो। यससँगै बराबरी गर्ने नेपालको प्रयास सफल भएन। तर, ८७औं मिनेटमा काउन्टर अट्याकबाट नेपालले गोल फर्कायो। मीनाले गोल गर्दै नेपाललाई २–२ को बराबरीमा ल्याइन्। लेफ्ट साइडबाट पूर्णिमा राईले दिएको क्रसलाई मीनाले वान भर्सेस वानको स्थितिमा वान टच मार्फत सुन्दर गोल गरेकी हुन्।
इन्जुरी समयमा नेपालकी अनिशाको करिब ३० यार्डबाट हानेको फ्रिकिक बंगलादेशकी गोलकिपर स्वर्णरानीले मुस्किलले बचाइन्। तर, इन्जुरी समय सकिन केही सेकेन्ड बाँकी छँदा मोती तृष्णा रानीको गोलबाट बंगलादेशले ३–२ को जित निकाल्यो।
काउन्टर अट्याकमा सिन्हा शिखाको क्रसमा पेनाल्टी बक्समा अनमार्क तृष्णा रानीले गोल गरेकी हुन्। यसअघि पहिलो खेलमा नेपालले भुटानमाथि ६–१ र बंगलादेशले श्रीलंकामाथि ९–१ को फराकिलो जित निकालेका थिए। समान दुई बंगलादेशले ६ अंक जोड्दा नेपालको तीन अंक छ। समान खेलमा भुटानको पनि तीन अंक छँदा श्रीलंका जितविहीन छ। यो संस्करणमा भारत सहभागी भएको छैन।
नेपाल, बंगलादेश भुटान र श्रीलंकासहित कुल चार राष्ट्र सहभागी छन्। लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्नेछ। सहभागी चार टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। नेपालले तेस्रो खेलमा जुलाई १७ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ। पछिल्लो संस्करण सन् २०२३ मा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता हो।
नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो। तर, फाइनलमा भने नेपाली टोली ३–० को फराकिलो हार सामना गर्न बाध्य भयो। यसपल्ट भने नेपाल उपाधि जित्ने लक्ष्यसहित बंगलादेश गएको छ। तर, घरेलु टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लक्ष्य सहज नरहेको संकेत दिएको छ।
प्रकाशित: ३० असार २०८२ ०७:०५ सोमबार





