शीर्ष वरीयताकी एरिना सबलेन्का र तेस्रो वरीयताका अलेक्जेन्डर भेरेभ वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार बिहान भएको खेलमा अमेरिकाकी इभा जोभिकलाई ६-३ र ६-० को सेटमा पराजित गर्दै बेलारुसकी सबलेन्का सेमिफाइनलमा प्रवेश गरेकी हुन्। २९औँ वरीयताकी जोभिकलाई हराउन सबलेन्कालाई मात्र १ घण्टा २९ मिनेट लागेको थियो।
अस्ट्रेलियन ओपनको दुई पटककी विजेता सबलेन्काले अब सेमिफाइनलमा अमेरिकाकी कोको गौफ र युक्रेनकी एलिना भिटोलिनाबिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। पुरुष एकलतर्फको खेलमा अमेरिकाका लिएनर थिनमाथि संघर्षपूर्ण जित निकाल्दै जर्मनीका भेरेभले पनि अन्तिम चारमा स्थान पक्का गरे। पहिलो सेट ६-३ ले जितेका उनले दोस्रो सेट भने ६-७(५-७) ले थिनलाई सुम्पिएका थिए।
३ घण्टा ११ मिनेट चलेको खेलको तेस्रो सेट ६-१ र चौथो सेट ७-६ (७-३) ले जित्दै २८ वर्षे भेरेभ सेमिफाइनलमा पुगेका हुन्। अहिलेसम्म ग्रान्डस्लाम उपाधिविहीन भेरेभले सेमिफाइनलमा शीर्ष वरीयताका कार्लोस अल्कारेज र छैठौं वरीयताका एलेक्स डी मिनाउरबिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: १३ माघ २०८२ १३:१५ मंगलबार





