मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल ‘ए’ टोलीले घरेलु मैदानमा ओमानसँगको पहिलो एकदिवसीय खेलमा फराकिलो हार बेहोरेको छ।
मूलपानीमा बुधबार भएको पहिलो एकदिवसीय खेलमा मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल ‘ए’ ले पाहुना टोली ओमानसँग ७५ रनले पराजित हुँदै शृंखलामा सुरुआत गर्यो। यससँगै दुई खेलको एकदिवसीय शृंखलमा नेपाल ‘ए’ १–० ले पछि परेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा ओमानले दुई सय ८१ रनको चुनौतीपूर्ण लक्ष्य दियो तर जवाफमा राम्रो सुरुआत गरे पनि नेपाल ‘ए’ को टोली ४४.४ ओभरमा दुई सय १० रनमा नै अलआउट हुन पुग्यो। शीर्ष ब्याटरको साथ पाउँदा राम्रो सुरुआत गरे पनि नेपाली टोलीका मध्यक्रम पूर्ण असफल भयो । ३४.२ ओभरमा नेपाली टोली १७७/२ को राम्रो अवस्थामा थियो।
थप ३३ रन जोड्दा नेपाली टोलीले आठ विकेट गुमायो। नेपालका कप्तान अनिलकुमार साह र ईशान पाण्डे गरी दुई ब्याटरले अर्धशतक बनाए। ईशानले ६२ बलमा ५२ रन बनाए। उनको इनिङमा तीन चौका रह्यो। ओपनर तथा कप्तान अनिलकुमारले ६४ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले। उनले ६ चौका प्रहार गरे।
पहिलो विकेटका लागि अनिल र तृतराज दासबीच ८४ रनको साझेदारी हुँदा नेपालले राम्रो सुरुआत पायो। १८औं ओभरमा मुजिबुर अलीले कप्तान अनिललाई आउट गर्दै यो साझेदारी तोडे। दुई ओभरपछि तृतराज पनि पभेलियन फर्किए। उनी पनि मुजिबुरकै सिकार भए । तृतराज ४८ बलमा ३१ रनमा आउट भए । उनको इनिङमा चार चौका रह्यो। तेस्रो विकेटका लागि ईशान र देव खनालबीच ८६ रनको महत्त्वपूर्ण साझेदारी बन्यो।
३५औं ओभरमा देव खनाल ४३ बलमा ४३ रनमा आउट भए। ३४.४ ओभरमा नेपाल १७७/३ को अवस्थामा थियो। खातामा थप ११ रन जोड्दा अर्का ब्याटर ईशान पनि पभेलियन फर्किए। यससँगै नेपालको इनिङ धराशयी भयो। सन्दीप जोरा २२ बलमा ११ रनमा आउट भए। त्यसपछिका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। १८८ रनमा ३ विकेट गुमाएको नेपाल ‘ए’ ले थप २२ रन जोड्दा ७ विकेट गुमाउँदै खराब अन्त्य गर्यो। ओमानको बलिङमा सकिल अहमदले तीन, नदिम खान र मुजिबुरले समान दुई तथा होनैन अलीले एक विकेट लिए। टस जितेर ब्याटिङ रोज्दै ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ८० रनको योगफल तयार गर्यो।
राम्रो सुरुआत पाएको ओमानका दुई ब्याटरले अर्धशतक बनाए। अन्य ब्याटर पनि चँम्किए। मुजिबुर अलीले ७२ रन र ओपनर जतिन्दर सिंहले ५८ रनको योगदान दिए । शीर्ष क्रमका ब्याटरको राम्रो साथ पाउँदा ओमानले घरेलु टोलीसामु बलियो लक्ष्य दियो। पहिलो विकेटका लागि कप्तानसमेत रहेका जतिन्दर र आशिष ओडेदारबिच ७९ रनको साझेदारी भयो। आशिष २७ रनमा आउट भए। जतिन्दरले ४८ बलमा ९ चौका र एक छक्का हिर्काए। १५ रनको अन्तरमा ओमानले तीन विकेट गुमायो। हामद मिर्जा ५ रनमा नै पभेलियन फर्किए। चौथो विकेटका लागि मुजिबुर र हासिर दाफेदारले ९४ रनको बलियो साझेदारी गरे।
हासिर ४६ रनमा पभेलियन फर्किए। उनले ४१ बलमा समान तीन चौका र छक्का प्रहार गरे। मुजिबुरले ८५ बलको सामना गर्दै चार चौका र तीन छक्का हिर्काए। छैटौं विकेटका लागि पनि विनायक शुक्ल र मुजिबुरबीच ५० रनको महत्त्वपूर्ण साझेदारी भएपछि ओमानले राम्रो योगफल बनाएको हो। तल्लो क्रमका ब्याटर विनायक र जितेन रामानन्दीले रन बटुले। विनायकले २५ रन जोड्दा जितेन १७ रनमा अविजित रहे। नेपाल ‘ए’ को बलिङमा आकाश चन्दले चार, सन्तोष यादवले दुई तथा साहब आलम, शेर मल्ल र रसिद खानले समान एक विकेट लिए। नेपाल ‘ए’ ले अब दोस्रो खेल शुक्रबार ओमानसँग खेल्नेछ।
प्रकाशित: १० वैशाख २०८३ ०६:४४ बिहीबार





