कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न २० डोजाङका दुई सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक डोजाङका प्रमुख एवम् तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए। एकदिने प्रतियोगिताका खेलहरू पेप्सीकोलाको यतिटोलस्थित आयोजक डोजाङको आफ्नै हलमा भएको थियो।
नयाँदेखि ब्ल्याक बेल्टसम्मका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। निर्णायक पनि नयाँ थिए। प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगितासँगै नयाँ खेलाडी र निर्णायकलाई तेक्वान्दोको व्यवहारिक पक्षबारे अझ विस्तृत जानकारी गराउनु रहेको प्रमुख श्रेष्ठले बताए।
विजेतालाई बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा–३२ का अध्यक्ष नवराज पराजुली, ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडेरेसनका अध्यक्ष राजकुमार दराई, आयोजक डोजाङ प्रमुख श्रेष्ठ र खेलाडीका अभिभावकलगायतले कार्यक्रमबीच पुरस्कृत गरेका थिए।
सो अवसरमा दक्षिण कोरियामा सम्पन्न वल्र्ड ओलम्पिक्सको सिनियर ३०–३९ वर्ष उमेरसमूहको एकल पुम्से र ६८–७२ केजीमा कांस्य तथा वल्र्ड पिस तेक्वान्दो च्याम्पियनसिपको सिनियर एकल पुम्सेमा स्वर्ण जित्न सफल राजकुमार दराईलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।
प्रकाशित: २५ श्रावण २०८२ ०७:१२ आइतबार




-600x400-wm.jpg)
