२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

भक्तपुरमा ७१.४६ प्रतिशत मतदान

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत भक्तपुर जिल्लामा ७१ दशमलव ४६ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत प्रकाश मगरका अनुसार जिल्लामा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको हो।

भक्तपुर जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका क्षेत्र नम्बर १ मा पर्दछन् भने मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका क्षेत्र नम्बर २ मा पर्दछन्।

जिल्लाका चारवटै नगरपालिकामा सम्पन्न मतदानमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। सार्वजनिक गरिएको वडागत विवरण अनुसार अधिकांश स्थानमा करिब ७० प्रतिशत हाराहारीमा मतदान भएको छ।

चाँगुनारायण नगरपालिकामा कुल ४६ हजार ५१५ मतदातामध्ये ३० हजार ५४९ मत खसेको छ, जुन करिब ६६.५५ प्रतिशत हो। यहाँ वडा नम्बर १ मा सबैभन्दा बढी ७०.८४ प्रतिशत मतदान भएको छ भने वडा नम्बर ६ मा सबैभन्दा कम करिब ५९ प्रतिशत मतदान भएको छ।

भक्तपुर नगरपालिकामा भने सबैभन्दा बढी मतदान भएको देखिएको छ। यहाँ कुल ६० हजार ३२ मतदातामध्ये ४५ हजार ८५० मत खसेको छ, जुन करिब ७५.६१ प्रतिशत हो। वडागत रूपमा वडा नम्बर १० मा सबैभन्दा बढी ७८.१४ प्रतिशत मतदान भएको छ भने अन्य अधिकांश वडामा पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ।

त्यसैगरी सूर्यविनायक नगरपालिकामा कुल ५३ हजार ७०५ मतदातामध्ये ३९ हजार १६२ मत खसेको छ। यहाँ समग्र मतदान प्रतिशत करिब ७२.९३ प्रतिशत पुगेको छ र अधिकांश वडामा ७० प्रतिशतभन्दा बढी मतदान भएको तथ्यांकले देखाएको छ।

मध्यपुर थिमि नगरपालिकामा कुल ४४ हजार ४६८ मतदातामध्ये ३२ हजार ३४ मत खसेको छ, जुन करिब ७३.५४ प्रतिशत हो। यहाँ पनि अधिकांश वडामा ७० प्रतिशत हाराहारी मतदान भएको छ।

जिल्लाका चारवटै नगरपालिकामा समग्र रूपमा हेर्दा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचन कर्मचारीको सक्रिय भूमिका रहेको जनाइएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App