२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

बाराका चारै निर्वाचन क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मतदान

बाराको निर्वाचन क्षेत्र नम्बर ३ का मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समिति, बारामा राखिँदै।<br>

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाराका चारवटै निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न मतदानमा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकीसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा रहेका करिब ४ लाख ६५ हजार मतदातामध्ये प्रारम्भिक विवरणअनुसार करिब २ लाख ८० हजार मत चारवटै निर्वाचन क्षेत्रमा खसेको बाराका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए।

मतपेटिकाहरू मतदान स्थलबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरी मिलाउने कार्य जारी रहेकाले विस्तृत विवरण आउन केही समय लाग्ने अधिकारीले बताए।

मतगणनाका लागि प्रत्येक निर्वाचन क्षेत्रका मतपेटिका छुट्टाछुट्टै स्थानमा राख्ने व्यवस्था गरिएको छ। त्यसअनुसार निर्वाचन क्षेत्र नम्बर १ का मतपेटिका निर्वाचन अधिकृतको कार्यालय कोल्हवी, क्षेत्र नम्बर २ का मतपेटिका निर्वाचन अधिकृतको कार्यालय बरियारपुर, क्षेत्र नम्बर ३ का मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैया, र क्षेत्र नम्बर ४ का मतपेटिका निर्वाचन अधिकृतको कार्यालय जितपुरमा राखेर मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ २१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App