२२ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

‘लो स्कोरिङ’ टेस्ट खेलमा भारत स्तब्ध, दक्षिण अफ्रिकाको सनसनीपूर्ण जित

तीन दिनमै सकिएको सनसनीपूर्ण टेस्ट म्याचमा दक्षिण अफ्रिकाले भारतलाई ३० रनले हराएको छ। चारै इनिङमा बलर हाबी भएर तीन दिनमै ४० विकेट निकालेको खेलमा भारत स्तब्ध बनेको हो। चारै इनिङमा दुवै टोलीले २०० सम्मको स्कोर पनि जोड्न सकेनन्।

१४ नोभेम्बरबाट कोलकाताको इडन गार्डेनमा सुरु भएको खेलमा पहिले ब्याटिङमा उत्रिएको साउथ अफ्रिका १५९ रनमा रोकिएको थियो। जसमा एइडन मार्करमले ३१, कप्तान टिम्बा बभुमा र टोनी डे जर्जीले २४–२४ र रायन रिकल्टनले २३ रनको योगादन दिँदा अन्यको प्रदर्शन त्यो भन्दा कम रह्यो।  

भारतका तर्फबाट जसप्रित बुमराहले ५ विकेट लिँदा मोहमद सिराज र कुलदीप यादवले २–२ विकेट लिए। एक विकेट अक्षर पटेलको खातामा गयो।  

त्यसपछि ब्याटिङमा उत्रिएको भारतले पनि १८९ रन मात्रै जोड्न सक्यो। जसमा केएल राहुलले ३९, वासिनटन सुन्दर २९, रिसभ पन्त र रवीन्द्र जाडेजाले २७–२७ रन जोडे।  

बलिङमा दक्षिण अफ्रिकाका सिमोन हार्मरले ४, मार्को जेनसनले ३, केशव महाराज र कोरबिन बोसले एक–एक विकेट लिए।  

पहिलो इनिङमा ३० रनले पछाडि परेको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो(खेलको तेस्रो इनिङ) इनिङमा पनि १५३ रनमा रोकियो। जसमा कप्तान टिम्बा बभुमाको अर्धशतक(५५ रन) र कोरबिन बोसले २५ रनको योगदान रह्यो। भारतका बलर रवीन्द्र जाडेजाले ४, मोहम्मद सिराज र कुलदीप यादवले दुई–दुई विकेट लिए।  

त्यसपछि १२४ रनको लक्ष्य पछ्याएको भारतीय टोली चौथो इनिङमा ९३ रनमै अलआउट भयो। जसमा वासिनटन सुन्दरले ३१, अक्षर पटेलले २६ रन सबैभन्दा उल्लेख्य रह्यो।  

दक्षिण अफ्रिकाका लागि सिमोन हार्मरले ४ विकेट लिँदा मार्को जेनसन र केशव महाराजले दुई–दुई विकेट लिए। यसरी भारतले सनसनीपूर्ण खेलमा ३० रनको हार ब्यहोरेको छ।  

चारवटै इनिङमा बलरसामू ब्याटरहरू पूर्णतः निरीह देखिए। खेलभरी नै एउटै इनिङमा दुई जना ब्याटरले मात्रै एक सयभन्दा बढी बल खेल्न सके। जसमा दक्षिण अफ्रिकी कप्तान टिम्बा बभुमाले तेस्रो इनिङमा १३६ बल खेलेर ५५ रन जोडे भने, भारतीय ब्याटर केएल राहुलले टिमको पहिलो इनिङमा ११९ बलमा ३९ रन जोडे। टिम्बा बभुमाको अर्धशतक खेलभरीकै एकमात्र अर्धशतक रह्यो।  यसरी दुई टेस्ट खेलको सिरिजमा दक्षिण अफ्रिका १–०ले अग्रता लिएको छ।  

प्रकाशित: ३० कार्तिक २०८२ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App