कालीकोटको रास्कोट नगरपालिका वडा नं २ की विमला खड्काको तल्लो पेट दुख्ने, छाती दुख्ने, पिसाब पोल्ने समस्या पहिल्यैदेखि थियो तर आर्थिक अभावका कारण उपचार गराउन कठिन भयो। न आर्थिक जोहो भइसकेको थियो न त अस्पतालमा गएर उपचार गराउने अवस्था नै थियो। रोग पालेर घरमै बस्नुबाहेक विकल्प थिएन तर आइतबार प्रादेशिक रणनीतिक रास्कोट अस्पताल गाैंतुकोटमा सञ्चालित निः शुल्क शिविरमा उपचार गर्न पाउँदा उनी उत्साहित भइन्। उनले खुलेरै स्वास्थ्य समस्या राखिन्।
रास्कोट नगरपालिका वडा नं २ की भरता सार्कीको लामो समयदेखि टाउको दुख्ने समस्याले सताइरहेको थियो। घरायसी औषधि गर्नसम्म गरिन् तर निको नभएपछि उनी झन् बिरामी हुँदै गइन्। यौनीबाट सेतो पानी बग्ने र पेट पोल्ने समस्या पनि थियो। उनले चिकित्सकसमक्ष सबै समस्याको पोको खोलिन्। भनेजस्तो उपचार पनि पाइन्। अहिले उनी मक्ख छिन्।
रास्कोट नगरपालिकाको प्रादेशिक रणनीति अस्पताल गाैंतुकोटमा आइतबारदेखि तीन दिनसम्म चल्ने निः शुल्क पाठेघरको मुखको क्यान्सर, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी निः शुल्क स्वास्थ्य शिविरमा रास्कोट नगरपालिकाको समन्वय, प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपालको सहजीकरणमा सशक्त बालिका परियोजनाअन्तर्गत कार्यक्रम गरिएको हो।
किशोरकिशोरीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार र मेरो विद्यालयमा साथीहरू पढ्ने बेलामा बेहोस हुने समस्याबारे शिविरमा चिकित्सकसँग जानकारी लिएको किशोरी अञ्जु लुवारले बताइन्। उनले भनिन्, ‘म पनि किशोरी समूहको सदस्य हुँ। मैले आज चिकित्सकबाट सिकेकाे कुरा किशोरी समूह र विद्यालयका साथीमाझ राख्ने बताइन्।
शिविरमा बोल्दै रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले रास्कोट नगरपालिकाका दिदीबहिनीका समस्या समाधानका लागि रास्कोट नगरपालिकाले निः शुल्क शिविर राखेको बताए। उनले खुलेर उपचार गर्न सुझाए।
उनले रास्कोटमा चलिरहेको तीनदिने स्वास्थ्य शिविरमा आएर आफ्नो स्वास्थ्य जाँच गर्न आग्रह गरे। उनले दिदीबहिनी तथा किशोरकिशोरीलाई निर्धक्कका साथ आफ्ना समस्या चिकित्सकलाई राखी प्रजनन स्वास्थ्यमा भएका समस्या र यौन प्रजननको उपचार गर्न अनुरोध गरे।
प्लान इन्टरनेसनल नेपालका कार्यक्रम सयोजक दीक्षा भाटले प्लान इन्टरनेसनल नेपालले रास्कोट नगरपालिकामा लामो समयदेखि काम गरिरहेको बताइन्। उनले रास्कोट नगरपालिकाको समन्वयमा रास्कोटका दिदीबहिनी तथा किशोरकिशोरीको यौन प्रजनन स्वास्थ्य अधिकारलाई सुधार गर्न र प्रजनन स्वास्थ्यमा भएका समस्या सुधार गरी किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा खुलेर बोल्न सहयोग पुग्ने बताइन्।
उनले प्रजनन रुणता परीक्षण, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी शिविरको महत्त्वबारे जानकारी दिँदै भनिन्, ‘यस परीक्षणको मुख्य उद्देश्य महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न र यदि कुनै समस्या देखिएमा उपचारका लागि उचित सुझाव दिनु सकेसम्म रोग लाग्न नदिऔं, रोकथाम नै सबैभन्दा राम्रो उपाय हो। किशोरकिशाेरीहरूका लागि यौन प्रजननका कुरा खुलेर गनु आवश्यक छ।’
कालीकोटको रास्कोट नगरपालिकाले रास्कोटमै स्वास्थ्य शिविर सुरु गर्दा रास्कोटका नागरिकलाई धेरै सहज भएको हुरेन्ड नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताए। उनले भने किशोरीहरूले प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र परिवार नियोजनसम्बन्धी परामर्श समेत दिएको बताए। उपचारमा अधिकांश बिरामी स्त्रीरोग सम्बन्धी थिए।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पनी बग्ने, ढाड, दुख्ने, पिसाब पोल्ने, पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच र किशोरकिशोरीलाई परामर्श सेवा दिन स्वास्थ्य शिविर गरिएको छ।
पहिलो दिन १ सय २५ जनाले स्वास्थ्य शिविरबाट सेवा लगेका छन् जसमा १५ जना सान्नीत्रिवेणी गाउँपालिका र अन्य रास्कोट नगरपालिका १,२ र ३ का रहेको परियोजना संयोजक पदम हमाले बताए। उनका अनुसार सोमबार ७,८,९ र मंगलबार ४,५ र ६ का नागरिकले सेवा लिन सक्ने उनको भनाइ छ।
प्रकाशित: २२ मंसिर २०८२ १०:०२ सोमबार





