बेलायतको चेशायरमा आरोन क्विनले छिमेकी सारा एलेनलाई बहसको क्रममा ‘मोटी’ भनेका थिए। त्यही अभद्र शब्द र व्यवहारका कारण अदालतले उनलाई १०० पाउण्ड (करिब १९ हजार नेपाली रुपैयाँभन्दा बढी) जरिवाना गरेको छ।
द टेलिग्राफका अनुसार घटना मार्च २८ मा सुरु भएको थियो। क्विनले अर्का छिमेकी माइकल टेलरको घरमा गएर ढोका लात्ताले हाने, बाहिर निस्कन कर गरे। टेलर बाहिर निस्किएपछि दुबैबिच झगडा भयो, क्विनले रिसमा भित्ताको बत्ती निकालेर फुटाइदिए।
त्यही दिन सारा एलेनसँग पनि लामो बहस भयो। अभियोजन पक्षकी रेनी सदर्नले अदालतमा भनिन्, ‘उनले उनलाई मोटी भने, तौलको बारेमा अपमानजनक टिप्पणी गरे, सामान्य दुर्व्यवहार गरे। यसले उनलाई तनाव र पीडा दियो।’
क्विनले अदालतमा अपराध स्वीकार गरेका छन्। उनले आफू अनिद्राको समस्याबाट पीडित भएको र आमाको मृत्युले मानसिक रूपमा कमजोर बनाएको बताए। त्यसपछि उनी सहरको अर्को ठाउँमा सरेका छन्, अहिले कुनै झगडा भएको छैन।
जरिवानाबाहेक उनलाई ११४ पाउण्ड (झण्डै २२ हजार रुपैयाँ) थप शुल्क र सारा एलेनसँग १२ महिनासम्म सम्पर्क नगर्न अदालतले आदेश दिएको छ। न्यायाधीश इयान जोनस्टनले भने, ‘हामी सारा एलेनलाई क्षतिपूर्तिलाई प्राथमिकता दिनेछौं, जसलाई तपाईंले बारम्बार दुःख दिनुभएको छ।’
प्रकाशित: २२ मंसिर २०८२ ०८:२४ सोमबार





