२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
विचार

कुटीको मौनता र शब्दको उज्यालो

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको गुन्डुमा निर्माण गर्न लागेको भव्य दरबारको तस्बिर सार्वजनिक मात्रै भएन, त्यसलाई ‘ओली कुटी’ नाम पनि दिइयो। नेताको घर हुनैपर्छ तर त्यसले दिने सन्देशको भने ठुलो अर्थ रहन्छ। उहाँका प्राथमिकतामा पार्टीभित्रको लोकतन्त्रको रक्षा गर्ने, यत्रो राष्ट्रिय दुर्घटना कसरी भयो? कहाँ चक्यौं? ध्वस्त भएका विश्वासको पुनस्र्थापना कसरी गर्ने भन्ने हुनुपर्थ्याे।

अहिले ‘सर्वज्ञ’ अध्यक्ष राजनीतिको हिसाबमा व्यस्त हुनुहोला। उहाँ अध्यक्ष एमालेको भए पनि नेता भनेको त समग्र देशकै हुन्छ। उहाँका हरेक कदम, हरेक शब्द, हरेक निर्णय देशको सामूहिक चेतनासँग गाँसिएका हुन्छन्। त्यसैले प्रश्न उठ्छ– बनाउने आलिसान दरबार, नाम राख्ने ‘कुटी’ ! ‘हात्ती र हात्तीछाप चप्पल भनेको उस्तै उस्तै हो नानु’ भनेजस्तै यी शब्द त विज्ञापन भाषामा मात्रै हुन्छन्।

यसरी ‘कुटी’ शब्द प्रयोग गर्नु झोपडीमा बस्ने गरिबको उपहास भएन? वा वैदिक दार्शनिक, ऋषिहरूको एकाग्रता, साधना र आत्मअनुसन्धानका लागि बनाउने गहन आश्रयस्थलको पवित्र अर्थमाथिको खिल्ली उडाइएको त होइन? शब्दको प्रयोग सधैं व्यक्तिको मनोविज्ञानसँग जोडिएको हुन्छ।

कुन मानिसले, कुन आशयले, कुन सन्दर्भ र समयमा, कुन शब्द प्रयोग गर्छ, त्यसैअनुसार शब्दले दिने सन्देश, त्यसले उब्जाउने मनस्थिति र त्यसले जनाउने चरित्र हुन्छ। हिन्दु वर्णाश्रम अर्थात् सन्यास आश्रम (त्याग/मोक्षमार्ग) कुटीवास हुन्छ। ७५ वर्षपछि जीवनकर्ममा पूर्ण त्याग, तप, ध्यान, ब्रह्मचिन्तन, मोक्षको खोज गर्दै जीवनको अन्तिम लक्ष्य मुक्ति (मोक्ष) प्राप्त गर्ने आध्यात्मिक अवस्था कुटीवास हो।

यसरी ‘कुटी’ जस्तो तपस्वी–जीवनको प्रतीक शब्दलाई एक भव्य आधुनिक दरबारको नाम बनाइदिनु अर्थहीन काव्य होइन, बरु अर्थको भ्रष्टीकरण, शब्दको पवित्रता र दर्शनको सम्मानमाथिको एक सूक्ष्म तर तीक्ष्ण प्रहारजस्तो बन्न पुग्छ।

 शब्दहरू कहिल्यै सामथ्र्य नचेताई मर्दैनन्। अर्थात् एकाएक हराउँदैनन्। उनीहरू जिब्रोलाई धोका दिँदै आफ्नै छायालाई अपराधी बनाइदिन्छन्। आज ‘कुटी’ त्यही सगबगाहटको बिचमा उभिएको छ– जसको पुरानो अर्थ स्वर्णकणजस्तो चम्किन्थ्यो तर जसलाई आज राजनीतिक, जिउने ढंग, आडम्बर र प्रचारले एक निरर्थक उपकरणझैं लाग्न थाल्यो। कुटी शब्द मात्र होइन, युगौंयुगको मानवीय अभ्यासको ऐना हो। तर हामीले त्यसै ऐनालाई धुलो पोतिदिएर अनुहार होइन, आफैंलाई सजाउने इच्छाको रेखाहरू मात्र कोर्दै गयौं।

झोपडी र कुटीः दुई आकृति, दुई नियति

हावाहुरीबाट जोगिन सक्ने भौतिक न्यूनतम संरचना, श्रमको चिसो, गरिबीको पसिना, मौकाले ढोकबन्द गरेको आश्रयथलो झोपडी हुन्छ। धरतीमै भए पनि आकाश उसका छाना बन्छन्। किनकि चुहिने छानोबाटै तारा मण्डिल देख्ने नियति हुन्छ। झोपडीको जीवनमा खर, मसिना डाँडाभाटा जोडिएको रात सुस्ताउने थलो मात्र हुन्छ तर त्यागको वास्तुकलाभित्रको स्वेच्छिक गरिबी कुटी बन्छ। बाहिरको संसारबाट घेरिएको मौनता। झोपडीमा असहाय आत्मविश्वास हुन्छ, कुटी भने आत्मविजय भए पनि अरूकै टेकोमा उभिएको। झोपडीले गरिबीको प्रमाणपत्र देखाइरहन्छ मनुष्यलाई तर कुटी सम्पन्नताबाट बिरक्तिएको आश्रयस्थल।

झोपडी अनिश्चित भविष्यको त्रास हो भने कुटी सांसारिक जीवनको विरक्ति, समग्र जीवन र जगत्को मौन चिन्तन थलो। वर्णाश्रम व्यवस्थाको उच्चतम रूप। एकै आकार तर फरक नियति। यो अन्तर नबुझ्दा आज ‘कुटी’ शब्द गरिबी र असहायपन गिज्याउने शब्द बन्दै गयो।

शक्तिको अहङ्कार र कुटीको उज्यालो

मानिस शक्तिशाली हुन्छ तर शक्तिले मानिसलाई बलियो बनाउँछ वा कमजोर? यो प्रश्न पुरानो हो तर यसको उत्तर समाजले पटकपटक दिइरहनुपर्छ। शक्तिले थोरै बोल्न, धेरै माग्न सिकाउँछ। शक्तिले मस्तिष्कमा प्रश्नहरू होइन, अहङ्कारका रसायन बगाउँछ। यही कारणले शक्तिशालीहरूको संगतमा बसेका दर्शनका ज्योति धेरैजसोले सूर्योदय नै देख्न पाउँदैनन्। राजनीतिक दूरदृष्टिका शिरोमणि चाणक्य दरबारमा बसेनन्। उनी साच्चैको कुटीमै बसे।

चीनका यात्री ह्वेनसाङले लेखेका छन्, ‘भारतमा एक मन्त्री थिए, जसले राजाको शक्तिभन्दा मानसिक निर्मलतालाई ठुलो ठान्थे। उनी राजकर्मपछि कुटीमा फर्किन्थे। किनकि दरबारको विलास नीतिचिन्तनको शत्रु बन्थ्यो।’

कुटीले चाणक्यलाई गरिब बनाएन बरु कुटीले उनलाई जीवन र शक्तिको स्पष्टता दियो। कुटीले अहङ्कार हटायो। राज्यको भाग्य सुनको दरबारमा होइन, त्यागको कुटीमा लेखिन सक्ने दर्शन आज मात्र होइन, युगयुगदेखि सत्य रहँदै आयो।

‘त्याग’ एउटा शब्द, एउटा समग्र आकाश

त्याग, एक अक्षर तर हजारौं वर्षको यात्राले भरिएको ऊर्जा। त्याग भन्नु विलासिता त्याग्नु मात्र होइन, वस्तु र त्यसले बिटुलेको मोह तृष्णाको प्यास पनि छाड्नु हो। त्याग एक प्रक्रिया हो, जहाँ मानिस आफ्नै मनभित्रको जंगल नाप्न जान्छ। तब ‘म के हुँ? के होइन?’ भन्ने प्रश्नको उत्तर फेला पार्छ तर आज समाजमा ‘त्याग’ भन्ने शब्द मात्र रह्यो, जीवनमा देखिने शब्द भने रहेन।

नेताहरू त्यागका कथा सुनाउँछन् तर विलासी कारभित्रै त्यागका भावनात्मक दृश्यहरू पनि उतार्छन्। बौद्धिकहरू त्यागका पुस्तक लेख्छन् तर पुस्तकका आफ्नो रहर सजाउन प्रयोग गरिन्छ। त्याग प्रदर्शनका लागि होइन, त्याग आत्मिक वसन्त हो। मौसम आफैं अनुभव गर्नुपर्छ।

भ्रमको सूक्ष्म राजनीति

डर ठुलो शक्ति हो तर भ्रम झन् ठुलो शक्ति। डर लामो समय टिक्दैन। डराउनेको मनको ओखती जिज्ञासा बन्छ। जिज्ञासाले अन्ततः प्रश्न जन्माउँछ। प्रश्नले तर्क र तथ्यमा आधारित उत्तरले डरलाई घुलोपिठो, कच्याककुचुक पारिदिन्छ। तर भ्रम अलौकिक वस्त्र लगाएर हिँड्ने प्राणी हो। भ्रमले प्रश्न मार्छ। भ्रमले जिज्ञासा काट्छ। भ्रमले हेर्न सिकाउँछ तर बुझ्न दिँदैन। भ्रमित मानिस विश्वासमा होइन, अन्धविश्वासमा रमाउँछ।

आफ्नै मनको संसारमा रमाउँदै नयाँनयाँ धुन बनाउँदै र अन्ततः आफैंले रचेको भ्रमित तर्कलाई  सत्य ठान्छ। डर दुनियामा प्रवेशका लागि मान्छेलाई क्षणभर रोक्छ तर भ्रम भने पुस्तौंसम्म व्यक्ति वा समाजलाई अल्झाइ रहनसक्छ। त्यसैले सत्ता भ्रमलाई पोस्छ। किनकि भ्रम सित्तैमा समर्थन ल्याउने सस्तो तर दिगो शक्तिशाली हतियार हो। यो शस्त्रले रगत बगाउँदैन, दिमागलाई नियन्त्रण गरेर हितअनुसार नचाइदिन्छ।

जब भ्रम च्यातिन्छ, तब सत्य जन्मिन्छ

एक दिन प्रश्न उठ्छ, तब मनले भनिदिन्छ– मैले हेरेको, मैले सुनेको, मैले मानेको कुरा सत्य हो कि केवल कसैले देखाएको विषय? त्यही क्षण भ्रमको राज्य भासिन थाल्छ। झुटका महलमा धाँजा पर्छन्।

मनको जमिनमा नयाँ सूर्योदय हुन्छ। एकाएक सत्य, शिव, सुन्दरमका नयाँ भाषामा सम्झिन थालिन्छ। सत्यम् अब पुस्तकको मन्त्र होइन, आत्मसामना गर्ने साहस बनिदिन्छ। शिवम् धार्मिक शब्द नबनेर मूल्य र विवेकको धड्कन बनिदिन्छ। सुन्दरम् बाहिरी रूप होइन, मनको ज्योति बनिदिन्छ। भ्रम टुट्यो भने सौन्दर्य पनि टुटेको होइन, बरु नयाँ जीवनमा नग्नसत्यको झिलीमिली प्रकाश फैलिन्छ।

कुटी: बाहिरी संरचना होइन, आन्तरिक यात्रा

छड, इँटा र सिमेन्टले बन्ने कुनै आकारको महल कुटी हुँदैन। शक्ति केन्द्र होइन, अहङ्कारको कारखाना र षड्यन्त्रको प्रयोगशाला नभई मनले आफैंमा फर्किने मानसिक प्रवेशद्वार हो। सांसारिक जीवन त्याग्नु कुटी प्रवेश होइन, बरु संसार बुझ्ने तयारी हो। कुटी–जीवन सांसारिक जीवनबाट भाग्नु होइन, रिस, राग, लोभ, मोह त्याग्दै जीवनको क्रूर समीक्षा गर्दै अभिभाराको पुस्तान्तरण हो।

आफ्ना अनुभव समाजमा, युगमा हस्तान्तरणको थलो हो। मान्छे मानवमा फेरिएर उभिने थलो हो। तुजुक र षड्यन्त्रको अभ्यास थलो नभई कुटी अन्तरमनको चेत खुल्ने एकान्तथलो भएकाले  अनाशक्ति होइन, स्पष्टता जागृतचेतको विश्रामथलो हो। कुटी निन्द्रा होइन, अन्तर्जागरण हो। जब मान्छे एकान्तमा आफ्नै जीवन महाकाव्य पढ्न थाल्छ तब ऊ लाज र लोभबाट मुक्त हुँदा मानवमा फेरिन सक्छ। कुटीले राज्य बदल्न सक्छ। समाजको अन्धकार चिरेर नयाँ प्रकाश छर्न सक्छ।

कुटीको मौन र भविष्यको दिशानिर्देश

समाजले कुटीको मर्म बुझ्यो भने शब्दहरूको पुनर्जन्म हुन्छ। बौद्धिकता आडम्बरबाट बच्छ, पाखण्डबाट छुट्छ, राजनीति चरित्रमा फर्कन्छ, संस्कृति अभिमान होइन, आत्मविवेक बन्छ। कुटी अतीतको स्मृति होइन, भविष्यको चेतना हो।

 हामीले कुटीलाई झोपडीको स्तरमा झारिदियौं भने हाम्रो चिन्तन राम्रोसँग बाँच्दैन। हामी झनै भ्रमित भिड, निरर्थक डर र उधारो विश्वाशका सयौं जालमै फसिरहन्छौं।

अन्तिम शब्दः कुटी हामीभित्र छ

कुटी घना जंगल वा पहाडको टुप्पोमा मात्र हुँदैन, हरेक मानिसको मनको सबैभन्दा मौन स्थानमा हुन्छ। त्यहाँ इच्छा थाक्छन्, अहङ्कारले वैशाखी पाउँदैन, भ्रमका पर्दा च्यातिन्छन् र सत्य, शिव, सुन्दर फेरि नयाँ अर्थमा उदाउँछन्।

हामीले त्यही कुटी भएको थलो भेट्यौं भने शब्दहरू फेरि आफ्ना संवेदना जोगाउन निर्मल हुनेछन्। सत्ता फेरि विनम्र हुनेछ। मान्छे फेरि मानव बन्नेछ। ओली कुटी नभई ओली–निवास र एमालेको अभिभावकीय राजनीतिक केन्द्रीय थलो बन्नेछ। कुटी हाम्रो भित्री ब्रह्माण्डको सबैभन्दा शान्त, गहिरो, उज्यालो गृहस्थी हो, जहाँ पहिलो पटक नग्न–सत्यको सामना गर्नुपर्छ तब आफैंलाई भेट्न सकिन्छ।

प्रकाशित: २२ मंसिर २०८२ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App