नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सुर्खेत रंगशाला तयार भए पनि नयाँ सरकार आएपछि त्यसको आयोजना रोकेको आरोप लगाएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा शुक्रबार भएको अखिल नेपाल खेलकुद महासंघको चौथो राट्रिय सम्मेलनका अवसरमा माओवादी केन्द्र अध्यक्ष दाहालले रंगशाला तयार भएको अवस्थामा नयाँ सरकार आउनेबितिक्कै राष्ट्रिय खेलकुदको आयोजना हुन नदिएको बताए।
जब पनि माओवादीबाट आएका व्यक्ति खेलकुदमा रहन्छन् तबसम्म राष्ट्रिय खेलकुद गर्नु हुँदैन भन्ने धारणा हुँदा राष्ट्रिय खेलकुद आयोजना हुन नसकेको उनको भनाइ छ। अध्यक्ष प्रचण्डले सम्भव भएसम्म राष्ट्रिय खेलकुद नै आयोजना नगर्ने नराम्रो नीति लिएको प्रस्ट देखिने बताएका छन्।
अखिल नेपाल खेलकुद महासंघलाई यो खराब विषयमा आक्रामक तरिकाले हस्तक्षेप गर्न अपिल गरे। उनले माओवादीका केन्द्रका व्यक्ति खेलकुद क्षेत्रमा हुँदा यो क्षेत्रमा धेरै विकास गरे पनि त्यसलाई प्रभावित गर्ने काम भएको आरोप लगाए। त्यसैले अखिल नेपाल खेलकुद महासंघले पनि थप सक्रियता बढाएर खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने उनले औंल्याए।
अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशिला रहेको औंल्याए। राष्ट्रिय एकता र भाइचाराको प्रवर्धनमा पनि खेलकुद क्षेत्रको भूमिका महŒवपूर्ण रहेको उनले उल्लेख गरे तर, समयकालमा यो क्षेत्र दुरुपयोग भएको उनको भनाइ छ।
पञ्चायती तानाशाहीको रक्षाका निम्ति खेलक्षेत्रको सबैभन्दा बढी दुरुपयोग गरिएको दाहालले जिकिर गरे। तर, गणतन्त्र स्थापनापछि आफूहरूले नेपाली खेलकुद र खेलाडीलाई राष्ट्रिय एकता निर्माण, अन्तर्राष्ट्रिय पहिचान दिलाउनका लागि प्रोत्साहन गर्दै आएको बताए। यो व्यवस्था आएपछि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम हुँदै आएको पनि उल्लेख गरे। पहिलोपल्ट आफू गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले रचनात्मक र सृजनात्मक ढंगले गाउँ टोलदेखि नै केन्द्रसम्म खेलकुद क्षेत्रलाई गतिशील बनाउन भूमिका खेलेको बताए। प्रचण्डले आफ्नो पार्टी सरकारमा जाँदा पटकपटक खेलकुद मन्त्रालय राखेर र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव पनि आफ्नै पार्टीले पठाएर खेलकुद विकासमा काम गरेको बताए।
अहिले नेपाली खेलाडीले विभिन्न खेलबाट अन्तर्राष्ट्रिय पदक दिलाउँदै देशको नाम पहिचान गराएकाले गर्वको महसुस हुने उनले बताए। राज्यले लगानी बढाउने, खेलाडीहरूलाई उत्प्रेरित गर्ने, राम्रो भौतिक पूर्वाधार निर्माण गर्ने र राम्रो वातावरण निर्माण गर्ने हो भने खेलकुद क्षेत्रमा आगामी दिनमा गुणात्मक परिवर्तन आउन उनको विश्वास छ।
यसले देशको अर्थतन्त्रलाई माथि उठाउनमा पनि मद्दत गर्ने अध्यक्ष प्रचण्डले बताए। खेल पूर्वाधार निर्माणका लागि आफ्नो पार्टीले लगातार काम गरेको उनको भनाइ थियो। क्रिकेट रंगशाला निर्माण प्रक्रिया होस् या राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउन आफ्नो क्याबिनेटले काम गरेको उनले स्मरण गरे।
उद्घाटनको अवसरमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले दशौं राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने अवस्थामा सरकारले त्यसमा ध्यान नदिएको आरोप लगाए। गत वर्ष नै हुनुपर्ने राष्ट्रिय खेलकुद अहिलेसम्म नहुनुले एकपटक पछि माओवादी केन्द्रको नेतृत्व अपरिहार्य देखिन थालेको माओवादीले नेता बस्नेतले उल्लेख गरे।
खेलकुदमा धेरै सम्भावना रहे पनि देशको नेतृत्व सही नहुँदा खेलकुद क्षेत्रले दुःख पाएको उनको भनाइ छ। अहिले खेलकुद क्षेत्रमा संघहरू विघटन गर्ने, ओलम्पिक कमिटी दुई वटा बनाउने र खेलक्षेत्रमा सरकारले नै अराजकताको अवस्था सिर्जना गरेको उनको आरोप छ।
अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा अखिल नेपाल चेस महासंघका अध्यक्ष दीपेन राई र अखिल नेपाल ब्याडमिन्टन संघका अध्यक्ष तिलक पाण्डेलाई खेल प्रतियोगिता आयोजनासँगै खेल विकासमा काम गरेको भन्दै सम्मान गरिएको थियो। दाहालले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए। सोही अवसरमा मुवाथाईका खेलाडी र क्योकुसिन करातेका खेलाडीले डेमोन्स्ट्रेसन देखाएका थिए।
उक्त राष्ट्रिय सम्मेलन शुक्रबारदेखि दुई दिनसम्म चल्ने अखिल नेपाल खेलकुद महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए। उक्त उद्घाटन सत्र अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ को अध्यक्षतामा भएको थियो।
पहिलो दिन बन्द सत्रमा अध्यक्ष कोइरालाको राजनीतिक प्रतिवेदन, महासचिव धमलाको सांगठनिक प्रतिवेदन, प्रकाश कुसारीको विधान प्रतिवेदन र कोषाध्यक्ष एलिसा थापाको आर्थिक प्रतिवेदन पास भयो। शनिबार हुने निर्वाचनबाट २१ पदाधिकारीसहित कुल एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने महासचिव धमलाले जानकारी दिए।
प्रकाशित: २१ भाद्र २०८२ ०८:३० शनिबार





