नेपालका पाँच खेलाडीले श्रीलंकामा हुने पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
अगस्ट ७ र ८ तारिखमा हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। उक्त प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ।
पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्नेछन्। महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्नेछन्। प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी र अफिसियलमा राजकुमार कार्की रहेका छन्।
पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वमन्त्री शक्ति बस्नेतलगायतले खुमालटारमा मंगलबार एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेका थिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला लगायतको उपस्थिति रहेको थियो। अध्यक्ष दाहालले वादोरियो करातेले विगतजस्तै यो प्रतियोगितामा पनि पदक जित्ने विश्वास व्यक्त गर्दै सफलताका लागि शुभकामना दिए।
प्रकाशित: २१ श्रावण २०८२ ०६:४० बुधबार





