विश्वकप जित्ने २२ मध्ये १९ राष्ट्रले उपाधि उचाल्दा ती राष्ट्रको सुरुआती ११ खेलाडीको औसत उमेर २६ देखि २८ वर्षको बिचमा रहेको तथ्यांक भेटिन्छ।
यो तथ्य इङ्ल्यान्ड, फ्रान्स र स्पेनका लागि उत्साहजनक हुन सक्छ। किनभने यस विश्वकपमा यी तीनै राष्ट्रका सुरुआती ११ खेलाडीको औसत उमेर यही दायराभित्र छ। विगतका २२ विश्वकप विजेता टोलीहरूको सुरुआती ११ को औसत उमेरलाई क्रमबद्ध गरियो भने त्यसको मध्य (मिडियन) औसत २७ वर्ष ५७ दिन रहेको देखिन्छ। अर्थात् इतिहासले देखाएको सफलताको सबैभन्दा उपयुक्त उमेर यही हो तर अर्जेन्टिनाले यसपल्ट उपाधि जितेमा विश्वकप इतिहासकै सबैभन्दा पाका टोलीमध्ये एकका रूपमा च्याम्पियन बन्नेछ। स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाको सुरुआती ११ को औसत उमेर ३०.५ वर्ष थियो। त्यो टोलीमा ३२ वर्ष वा सोभन्दा माथिका पाँच खेलाडी थिए, जसमा ३९ वर्षीय लियोनेल मेसी पनि पर्छन्।
समग्र यस विश्वकपमा हेर्दा अर्जेन्टिनाको सुरुआती ११ को औसत उमेर २९ वर्ष ३०२ दिन देखिन्छ। अझ पछिल्ला दुई खेलमा मैदान उत्रिएको टोलीको औसत उमेर ३० वर्षभन्दा माथि पुगेको थियो। विश्वकप इतिहासमा २९ वर्ष वा सोभन्दा बढी औसत उमेर भएको टोलीले उपाधि जितेको उदाहरण एकपटक मात्रै छ।
सन् १९६२ मा विश्वकप जित्दा ब्राजिलको सुरुआती ११ को औसत उमेर ३० वर्ष २०४ दिन थियो। २६ वर्षभन्दा कम औसत उमेर भएको राष्ट्रले विश्वकप जितेको घटना पनि दुईपटक मात्र छ। सन् १९७८ मा अर्जेन्टिनाले २५ वर्ष १९५ दिनको औसत उमेरमा उपाधि जितेको थियो। सन् २०१८ मा पनि फ्रान्सले २५ वर्ष ३२६ दिनको औसत उमेरसहित विश्वकप जित्दै इतिहास दोहोर्यायो।
सबैभन्दा युवा विश्वकप विजेता टोलीमध्ये त्यो पनि हो। यसपटक उत्तर अमेरिकामा जारी विश्वकपमा सहभागी इङ्ल्यान्डको टोलीमा २७ वर्ष उमेरका खेलाडी दुई जना मात्रै छन्। चेल्सीका डिफेन्डर ट्रेभो चालोबाह विश्वकप विजेता टोलीको ऐतिहासिक मिडियन उमेरसँग सबैभन्दा नजिक छन्।
इङ्ल्यान्ड फाइनल पुग्यो भने फाइनलको दिन उनी २७ वर्ष १४ दिनका हुनेछन् तर उनी हालसम्म विश्वकपमा एक मिनेट पनि मैदान उत्रिएका छैनन्। इङ्ल्यान्डका नियमित खेलाडीमध्ये भने आर्सनलका मिडफिल्डर डेक्लान राइस सबैभन्दा नजिक पर्छन्। उनले इङ्ल्यान्डका हालसम्मका ६ मध्ये पाँच खेलमा सुरुआत गरेका छन्। उनको उमेर साढे २७ वर्ष पुगेको छ।
जुड बेलिङ्घम, इलियट एन्डरसन, जारेल क्वान्साह, मोर्गन रोजर्स र जेम्स ट्राफोर्ड २३ वर्षका भए। सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने अर्को विश्वकपसम्म यी पाँचै खेलाडी २७ वर्षका हुनेछन्, जुन विश्वकप जित्नका लागि सबैभन्दा उपयुक्त उमेर मानिन्छ। इङ्ल्यान्डको २६ सदस्यीय टोलीमध्ये सात जना खेलाडी २६ देखि २८ वर्ष उमेर समूहमा छन्।
विश्वकप इतिहासमा विजेता टोलीहरूको सुरुआती ११ को औसत उमेरमध्ये ८६.४ प्रतिशत यही उमेर समूहभित्र परेको तथ्यांकले देखाउँछ। यस विश्वकपमा हालसम्म सुरुआती ११ खेलाडीको औसत उमेरका आधारमा हेर्दा सेमिफाइनल पुगेका चार टोलीमध्ये इङ्ल्यान्ड सबैभन्दा युवा टोली हो।
सुरुआती इङ्लिस टोलीको औसत उमेर २६ वर्ष २५५ दिन हो। स्पेनको औसत उमेर २६ वर्ष २७१ दिन छ, जुन पनि २७ वर्षभन्दा कम छ। बाँकी चार टोलीमध्ये फ्रान्सको टोली दोस्रो सबैभन्दा पाको भए पनि विश्वकप जित्नका लागि आदर्श मानिने उमेरकै आसपास छ। विश्वकपभर फ्रान्सको सुरुआती ११ को औसत उमेर २७ वर्ष १९४ दिन रहेको छ।
प्रकाशित: ३१ असार २०८३ ०९:४७ बुधबार





