८ वैशाख २०८१ शनिबार
खेल

तिर्थबहादुरले जिते लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन

४२ किलोमिटर दुरी तीन घण्टा ११ मिनेटमा पुरा

पहिलो भएका तिर्थबहादुर तामाङ, दौडमा उपाधी विजेताहरु।

तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै शनिबार गोरखामा भएको म्याराथुन दौडमा नेपाली सेनाको भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ विजयी भएका छन्।

‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार दोस्रो खुल्ला म्याराथुन दौड २०७९’ मा सहभागी ९३ जनालाई पछि पार्दै तामाङ उपाधी उचाल्न सफल भएका हुन्। उनले नगद एक लाख ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र पाएका छन्।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेना रिपुमर्दन गणको आयोजनामा भएको प्रतियोगितामा तीन घण्टा १२ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै भारतीय सेनामा कार्यरत अनिश थापा मगर दोस्रो भए। उनले नगद एक लाख पुरस्कार पाएका छन्। एक मिनेट १६ सेकेन्डको अन्तरले उनी उपविजेता भए।

नेपाली सेनाको बरख गणका मोहनदेव जोशीले तीन घण्टा १५ मिनेट १५ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए। उनले नगद ७५ हजार पाएका छन्। चौथो र पाँचौ भएका चण्डिप्रसाद गणका देबराज महत्तरा र भिमकाली गणका गोबिन्द कार्कीलाई क्रमस ५० र ३५ हजार पुरस्कार प्रदान गरियो।

१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ।

इतिहासको प्रर्वद्धन गर्न एकीकृत ट्रेलको रुपमा बिकास गर्न नेपाली सेनाको शक्रियतामा सिरानचोक गाउँपालिका, पालुङटार र गोरखा नगरपालिकाले विसं २०७६ देखि यो म्याराथुन सुरु गरेका हुन्। कोरोना प्रभावका कारण दुई वर्ष रोकिएको दौड अहिले सञ्चालन भएको रिपुमर्दन गण गोरखाका गणपति हेम बिष्टले बताए।

विसं १६१६ मा भदौ २५ गते राजा द्रव्यशाहाले दौड जितेर गोरखा राज्यको राज्यभिषेक गरिएको इतिहास छ। गोरखा राज्यको सिमानालाई रक्षा गर्न भन्दै राजाले तत्कालीन समयमा सिरानचोककोट प्रयोग गरेका थिए। इतिहासले लिगलिगकोट, सिरानचोककोट र गोरखा दरबार जोडेकाले एउटा ट्रेलको रुपमा विकास गर्न म्याराथुन निरन्तर गर्नुपर्र्नेमा स्थानीय तहका प्रमुखहरुले जोड दिए।

कार्यक्रमका प्रमुख अथिति मध्ये कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले गढी किल्ला दरवार र एकीकरणको दौरानमा प्रयोग भएका मार्गहरु पहिचान गरी संरक्षण सम्वर्द्धन बिकास गर्ने योजना अनुसार यो दौड प्रतियोगिता भएको बताए।

नेपालको उत्पत्तिदेखि जगसम्म अवधारणा बमोजिम सञ्चालन भएको दोस्रो लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथुन दौड प्रतियोगिता २०७९ ले राष्ट्रिय एकीकरणमा वीर गोर्खालीले देखाएको अदम्य शाहस र चरित्रलाई मद्दत पुग्ने अपेक्षा गरिएको बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ लगायतले मन्तव्य राखेका थिए।

म्याराथुनले राष्ट्रिय स्तरका खेलाडीलाई अवसर प्रदान गर्नुका साथै गोरखाको पनि प्रचार प्रसारमा मद्दत पुग्ने जनप्रतिनिधिहरुले बताए। शनिबार बिहान पालुङटारको लिगलिगकोटबाट सुरु भइ सिरानचोकोट हुँदै गोरखा दरवारसम्म दौड भएको हो।

नेपाली सेना, प्रहरी शसस्त्रमा कार्यरत, राष्ट्रिय धावकहरु र सर्वसाधारणले पनि प्रतियोगितामा भाग लिएका थिए। यो गोरखामा अहिलेसम्मकै धेरै पुरस्कार राशी भएको म्याराथुन हो। नेपाली सेनाको प्रयासमा यो दौड २०७६ मा सुरु भएको हो। पहिलो वर्षको म्याराथुन प्रतियोगितामा गोरखाको आरुघाट गाउँपालिका घर भइ काठमाडौँ बस्दै आएका भिबहादुर गुरुङ विजयी बनेका थिए।

प्रकाशित: २५ भाद्र २०७९ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App