खोटाङ केपिलासगढी गाउँपालिका-७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्षअघि बुबा गुमाए। १२ वर्षको उमेरमा बुबा गुमाएका छितिजकी आमा शारदा राई (४५ वर्ष) शारीरिक र मानसिक रूपमा कमजोर छन्।
बुबाको मृत्युपछि आमा र तीन नाबालक भाइबहिनीको जिम्मेवारी छितिजमाथि छ। ठूली बहिनी दीपा राई कक्षा ७, निशा कक्षा ५ र कान्छो भाइ मुस्कान कक्षा ३ मा पढ्छन्।
भाइबहिनीको पढाइसँगै कक्षा १० मा पढ्ने छितिजको घर गत असार ९ गतेदेखिको भारी वर्षासँगै आएको पहिरोले पुर्यो। सुङ्देलको भीरखर्कमा रहेको घर र सम्पूर्ण सामग्री पहिरोमा पुरिएपछि छितिजको पाँचजनाको परिवार आफन्तकहाँ आश्रय लिँदै आएको थियो।
पहिरोले सबै गुमाएर समस्यामा परेका छितिजको परिवारलाई स्थानीयले चन्दा उठाएर बनाएको घर हस्तान्तरण गरिएको छ। स्थानीय देवानसिं कोयी राईले खाजुमा निःशुल्क दिएको एक रोपनी १३ आना जग्गामा ९ लाख रुपैयाँ खर्चेर बनाइएको ढुङ्गामाटोको गाह्रो र जस्तापाताको छानो भएको दुईतले घर शुक्रबार छितिजको परिवारलाई हस्तान्तरण गरिएको हो।
देश–विदेशका आफन्तबाट उठाइएको चन्दा र श्रमदानबाट बनेको घर गाउँपालिका प्रमुख समिर राईको उपस्थितिमा हस्तान्तरण गरिएको संयोजक एवं सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र कोयी राईले बताए। ‘पहिरोले सबै पुरेपछि समस्यामा परेका छितिजको परिवार आफन्तकहाँ बसेका थिए। गाउँपालिका, हङकङ र बेलायतबाट उठेको चन्दाबाट घर बनाइदिएका हौँ,’ उनले भने, ‘यो अभियान सफल बनाउन सबैको सहयोग महत्त्वपूर्ण रह्यो। सहयोग गर्ने सबैलाई धन्यवाद! छितिजको परिवारलाई उज्ज्वल भविष्यको कामना।’
घर बनाउन कोयी राई समाज खोटाङको संयोजनमा सञ्चालित चन्दा अभियानमा हङकङबाट हितबहादुर कोयी राईको पहलमा ३ लाख ५० हजार, बेलायतबाट कृतबहादुर कोयी राईको पहलमा १ लाख ५० हजार र केपिलासगढी गाउँपालिकाबाट १ लाख ५० हजार प्राप्त भएको छ। घर निर्माणमा नगद र श्रमदान गरी ९ लाखभन्दा बढी खर्च भएको आर्थिक व्यवस्थापनको जिम्मा लिएका स्थानीय शिक्षक भूपिन्द्र कोयी राईले बताए।
घर हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले छितिजको परिवारलाई गाउँपालिकाको सुविधा निरन्तर दिने प्रतिबद्धता जनाए। ‘आजदेखि तिमी परिवारसहित आफ्नो घरमा सरेका छौ। बाँकी जीवन उन्नति, प्रगति र परिवारको जिम्मेवारी समालेर बस्ने छौ। पूर्ण विश्वास लिएको छु। तिम्रो साथमा सधैँ स्थानीय सरकार रहने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले फेसबुकमा लेखे, ‘तिमीले सानो उमेरमा बाबा गुमायौ, आमाको अवस्था कमजोर छ। साना भाइबहिनीको जिम्मेवारी तिम्रो काँधमा छ। पढाइ र प्राकृतिक प्रकोपले सताए पनि विचलित नभई समस्यासँग लड्यौ। तिम्रो साहसलाई म सलाम गर्छु।’
पहिरोपीडित छितिजको परिवारलाई गाउँपालिकाले घर निर्माणका लागि नगद, खानाका लागि दाल–चामल र पढाइका लागि शैक्षिक सामग्री दिँदै आएको छ। प्राकृतिक प्रकोपमा परेका छितिजको परिवारलाई सबैको साथ, सहयोग र मायाले पुनः स्थापित हुन सहज भएको वडाध्यक्ष तेजकुमार राईले बताए। रासस
प्रकाशित: १३ वैशाख २०८२ ०८:४१ शनिबार





