काठमाडौंबाट झापा जाँदै गरेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ।
दुर्घटनामा काठमाडौँमा भएको शिक्षक आन्दोलनबाट फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइते शिक्षक लीलाप्रसाद भण्डारीले बताए। तीमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक छ।
‘म ड्राइभरको सिट पछाडि नै थिएँ,’ घाइते शिक्षक भण्डारीले भने, ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। एक्कासि गाडी सडकबाट पल्टियो। मुस्किलले बाँचियो। गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ।’
बस अनियन्त्रित भएर दुर्घटना भएको र चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले बताए। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ। रासस
प्रकाशित: १३ वैशाख २०८२ ०८:४९ शनिबार





