११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

मधेस सरकारको ‘जनता आवास’ दुई वर्षदेखि प्रयोगविहीन : सुविधा अभावमा झुप्रोमै डोम समुदाय

सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलमा डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि बनाएका घरहरू पूर्ण रूपमा प्रयोगमा आएका छैनन्।

हुलाकी सडकले विस्थापित १५ डोम परिवारका लागि तीन कोठे पक्की घर बनाइए पनि सात परिवारले ती घर प्रयोग गरेनन्। फलस्वरूप, ती घरमा झार पलाएको छ।

यहाँ १८ डोम परिवार छन्। तीमध्ये लालपुर्जा भएका १५ परिवारका लागि जनता आवासअन्तर्गत घर बनाइएको प्राविधिक रवीन्द्र यादवले बताए। ‘तीन परिवारको लालपुर्जा नभएर घर बनेन,’ उनले भने, ‘पालिकाले दिएको सार्वजनिक जग्गामा जान नमानेकाले समस्या भएको हो। बनेका घर दुई वर्षअघि हस्तान्तरण गरिसकिएको छ।’ उनका अनुसार एक घर बनाउन जनता आवासले ३ लाख ३२ हजार रुपैयाँ अनुदान दिएको थियो।

कार्यक्रम सञ्चालनमा कतिपय डोम परिवारले जमिन खोजेर घर बनाए। जमिन नहुनेले अरूसँग खरिद गरेर घर बनाए। तीमध्ये एक हुन् कैला मरिक। बाटो, बिजुली, खानेपानी नहुँदा बस्न नसकेको उनको भनाइ छ। ‘अरू सुविधामा सरकारले बेवास्ता गरेर उक्त घरमा नबसी झुप्रोमा बस्नुपरेको हो,’ उनले भने। सरकारले बाटो, बिजुली, खानेपानीको व्यवस्था गरे तुरुन्तै सर्ने उनले बताए।

वडाले पटक–पटक घरमा सर्न आग्रह गरे पनि उनीहरू नमानेको वडा नं. ३ का अध्यक्ष विनोदकुमार यादवले बताए। ‘उनीहरू बजार छोडेर वरपर जान मान्दैनन्,’ उनले भने, ‘घरमा बस्ने सुनिश्चित गरे वडाले तुरुन्तै बाटो, बिजुली, खानेपानीको व्यवस्था गर्छ। तर उनीहरूले जाने निश्चित गर्नुपर्छ। लगानी गरेर नगए वडाको खर्च बालुवामा पानीजस्तै हुन्छ।’

अध्यक्ष यादवका अनुसार यहाँका डोम समुदाय बाँसका सामग्री बनाएर बजारमा बेच्ने भएकाले स्थान छोड्न मान्दैनन्। हुलाकी सडक विस्तार पुनः सुरु हुँदा अहिले बसोबास गरेको ठाउँ छोड्नुपर्ने अवस्था आएमा ती घर प्रयोगमा आउन सक्ने उनले बताए।

स्थानीयका अनुसार जनता आवासका कतिपय घर पूर्ण रूपमा नबन्दै जीर्ण भएकाले सरकारको लगानी बालुवामा पानी भएको छ। घर बनेपछि केही डोम परिवार हर्षित भए पनि आधा दर्जनभन्दा बढी घर बेवारिसे र जीर्ण बने। यसको उपयोगिताका लागि पालिकाले ठोस पहल गर्नुपर्ने स्थानीयको माग छ। रासस

प्रकाशित: १३ वैशाख २०८२ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App