अनुभवी बलर सबनम राईले लामो समयपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा पुनरागमन गरेकी छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आइसिसी महिला विश्वकप एसिया छनोटका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरेको छ। मध्यम गतिकी अनुभवी बलर सबनमले १० महिनापछि नेपाली टोलीमा स्थान बनाएकी हुन्।
उनले पछिल्लोपल्ट श्रीलंकामा भएको एसिया कपमा भारतविरुद्ध खेलेकी थिइन्। त्यसयता नेपालले खेलेका १३ अन्तर्राष्ट्रिय खेलमा उनी टोलीमा स्थान बनाउन असफल रहिन्। तर, क्यानले थाइल्यान्डमा हुने आइसिसी महिला टी ट्वान्टी विश्वकपको एसिया छनोटमा भने सबनमको नाम समावेश गरेको छ। यो टोलीमा युवा खेलाडी पनि स्थान बनाउन सफल भएका छन्।
यु–१९ टोलीमा राम्रो प्रदर्शन गरेका रिया शर्मा र मनीषा उपाध्यायले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। रियाले गत मार्चमा नामिबियाविरुद्ध र मनीषाले गत फेब्रुअरीमा थाइल्यान्डविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनीहरूले यसल्ट पनि सिनियर टोलीमा स्थान बनाएका छन्।
पूजालाई नयाँ जिम्मेवारी
क्यानले नेपाली यु–१९ टोलीकी सफल कप्तान पूजा महतोलाई सिनियर राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी पनि दिएको छ।
उनको कप्तानीमा नेपालले पहिलोपल्ट आइसिसी यु–१९ महिला विश्वकप खेलेको थियो। उनकै उत्कृष्ट प्रदर्शनबाट नेपालले छनोट चरण पार गर्दै विश्वकप खेलेको हो। पछिल्लो समय राष्ट्रिय टोलीबाट पनि राम्रो प्रदर्शन गर्दै आएकी पूजाले नयाँ जिम्मेवारी पनि पाएकी छन्। उनलाई भविष्यमा नेपाली टोलीकी नेतृत्व गर्न सक्ने खेलाडीका रूपमा मानिँदै आएको छ।
सोहीअनुरूप क्यानले पनि पूजालाई जिम्मेवारी दियो। यसपल्ट आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोट आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा हुँदै छ। सोही छनोटका लागि नेपाली टोलीले भैरहवामा लामो समयदेखि तयारी पनि गरेको छ। मनोज कटवालको प्रशिक्षणमा नेपाली टोलीको छनोट गरिएको हो।
नेपाली महिला टोली विश्वकप छनोटको तयारीका लागि दिल्लीतर्फ प्रस्थान गर्दै छ। त्यसअगाडि नै क्यानले नेपाली टोली घोषणा गरेको हो। नेपाली टोलीका अन्य सदस्यमा पूर्वकप्तान रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, रोमा थापा, रुवि पोदार, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का र राजमती ऐरी छन्।
विन्दु यसअघि नेपाली टोलीकी उपकप्तानसमेत हुन्। नेपाल छनोटको समूह ‘सी’ मा छ। यो समूहमा बहराइन र हङकङ छन्। नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ।
प्रकाशित: १३ वैशाख २०८२ ०८:४३ शनिबार





