७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्व पौडीमा चार खेलाडी

नेपालका चार पौडीबाजले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने १५औं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा प्रतिस्पर्धा गर्ने भएका छन्।

डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २/२ पुरुष र महिलाले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्। त्यसका लागि नेपाली पौडी टोली सोमबार आबुधाबी जाँदै छ।

पुरुषको २ सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र एक सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन्।

महिलाको ५० र एक सय मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र एक सय मिटर ब्रेस्ट स्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउनेछन्।

अमेरिकामा रहेका एलेक्स भने त्यत्तैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए। उक्त टोलीको प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन छन्। नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले नयाँ उपलब्धि हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गरे।

खेलाडीले व्यवस्थापनमा नभई आफ्नो खेल र प्रशिक्षणतिर मात्र ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो। उनले राष्ट्रिय टोलीको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए।

प्रकाशित: २७ मंसिर २०७८ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App