८ वैशाख २०८१ शनिबार
खेल

प्रदेश १ र लुम्बिनीको विजयी सुरुआत

प्रदेश एक र लुम्बिनी प्रदेशले मंगलबारबाट सुरु भएको यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मोहम्मद हुसेनले ७ विकेट लिएपछि लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले हरायो।

गण्डकीले प्रस्तुत गरेको २४ रनको लक्ष्य लुम्बिनीले ५.५ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्‍यो। लुम्बिनीका कप्तान देव खनालले अविजित १८ र विराट भण्डारीले अविजित ८ रन जोडे। खनालले २० बलमा ४ चौका प्रहार गर्दा भण्डारीले ९ बलमा २ चौका प्रहार गरे।

रन खाता नखोल्दै ओपनर आकाश त्रिपाठीलाई गुमाएको लुम्बिनीका खनाल र भण्डारीले दोस्रो विकेटका लागि अविजित २६ रनको साझेदारी गरेपछि टोलीले सानदार जित पक्का गरेको हो। यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले १४.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र २३ रनको योगफल बनाएको थियो।

१ रन जोड्दा ओपनर मिलन क्षत्रीलाई गुमाएको गण्डकीले थप १० रन जोड्दा अर्जुन कुमाललाई गुमायो।५.२ ओभरमा ११–२ को स्थितिमा रहेको गण्डकीले थप १२ रन जोड्दा बाँकी ८विकेट गुमाएको थियो।

गण्डकीको इनिङ धराशयी बनाउने क्रममा मोहम्मद हुसेनले ७ ओभरमा १ मेडन ओभरसहित १४ रन खर्चिएर ७ विकेट लिए। त्यस्तै दुर्गेश गुप्ता र वासिर अहमदले समान १ विकेट लिए।

मंगलबार नै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले बाग्मती प्रदेशमाथि २६ रनको रोमाञ्चक जित हात पारेको थियो।

प्रदेश १ ले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको बाग्मतीले ३१.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४९ रन मात्र जोड्न सक्यो। १० रन जोड्दा ओपनर सूर्यान्सु कोइरालालाई गुमाएको बाग्मतीले थप २ रन जोड्दा अर्का ओपनर उत्तम मगरलाई समेत गुमायो। विपिन शाही र विवेक मगरले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेपछि बाग्मती सहज जिततर्फ अघि बढेको थियो।

तर २१औं ओभरमा विवेक र २२औं ओभरमा विपिन पवेलियन फर्किएपछि भने बाग्मतीमाथि प्रदेश १ हाबी बन्यो। विपिनले ५७ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४३ र विवेकले ५१ बलमा ८ चौकाको मद्दतमा ४२ रन बनाए।

त्यसपछि ब्याटिङका लागि आएका प्रतीक श्रेष्ठले १० र तिलक भण्डारीले अविजित १० रन बनाए। अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा सहज स्थितिमा पुगेर पनि बाग्मती निराश बनेको हो। प्रदेश १ का लभ कामतले ५ र दीपेश कँडेलले ३ विकेट लिए। दीपक जोशीको नाममा १ विकट रह्यो।

यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७५ रनको योगफल खडा गरेको थियो।

प्रदेश १ का लागि सोनु अन्सारीले ३२, कामतले ३३ र दीपेशले २३ रनको योगदान गरे। बाग्मतीका तिलक भण्डारी र क्रिस कार्कीले समान ३ र प्रतीश जिसीले २ विकेट लिए। गौतम केसी र विवेक मगरको नाममा १विकेट रह्यो।७ प्रदेशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल खेल मंसिर १९ गते हुनेछ।

प्रकाशित: ८ मंसिर २०७८ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App