आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारलेसहयोग स्वरूप दुई सय ५० वटा सवारी साधन उपलब्ध गराएको छ ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित भारतीय दूतावास काठमाडौंका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले अर्थमन्त्री रामेश्वर खनाललाई सवारी साधन हस्तान्तरण गरेका हुन् । भारत सरकारले निर्वाचनसम्बन्धी सहयोगको दोस्रो चरणमा नेपाललाई ती सवारी साधन हस्तान्तरण गरेको हो ।
योसहित भारतले नेपालको निर्वाचन प्रयोजनका लागि तीन सय १० वटाभन्दा बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ । यसअघि भारतले पहिलो चरणमा यही माघ ६ गते ६० वटाभन्दा बढी सवारी साधन हस्तान्तरण गरेको थियो । ती सवारी साधन नेपाल सरकारले आगामी निर्वाचनको तयारीका लागि माग गरेको सहयोग अन्तर्गतका हुन् ।
आगामी निर्वाचनका लागि भारतले करिब छ सय ५० सवारी साधन सहयोग स्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । ती सवारी साधनहरू केही हप्ताभित्रै चरणबद्ध रूपमा नेपाललाई हस्तान्तरण गरिने जनाइएको छ ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले भारत र नेपालबीचको लामो समयदेखिको सहयोग र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै ती सवारी साधनका लागि भारत सरकार र त्यहाँका जनतालाई धन्यवाद दिए ।
नेपाल सरकारको अनुरोध अनुसार भारत सरकारले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ ।
प्रकाशित: १५ माघ २०८२ १९:४९ बिहीबार





