१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

स्वास्थ्यमन्त्रीको टिपरको ठक्करबाट देवगणको मृत्यु, दिनभर आन्दोलन

महानगरीय प्रहरी वृत्त जगातीमा उचित क्षतिपूर्तिको मागसहित आन्दोलनरत पीडित ।<br>

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको टिपरले ठक्कर दिई भक्तपुरमा एकजना देवगणको मृत्यु भएको छ । भक्तपुरको कमलविनायकमा बुधबार राति साढे नौ बजे भएको दुर्घटनामा परी भक्तपुर नगरपालिका–८ का २६ वर्षीय स्कुटर चालक बिमल वनमालाको मृत्यु भएको हो । टिपरले स्कुटरलाई ठक्कर दिएपछि एकजनाको घटनास्थलमै मृत्यु र अर्को एकजना घाइते भएका थिए ।

मृतक बनमाला नेपालमै सबैभन्दा लामो समयसम्म चल्ने जीवित देवी देवगण हुन् । उनको मृत्युले जात्रासमेत प्रभावित भएको छ । माघ २ गतेदेखि भक्तपुरमा चल्न सुरु भएको नवदुर्गा जात्रा (ङालाकेगू जात्रा) अन्तर्गत बिहीबार देवगणहरु नवदुर्गा मन्दिरबाट जात्रास्थल भक्तपुर नगरपालिका वडा नं १० महालक्ष्मीमा जाने रुट थियो । यस क्रममा राति त्यही बसेर शुक्रबार त्यहाँ दिनभर जात्रा हुने गर्दथ्यो । तर घटनापछि जात्राका देवगणहरु राति अबेरसम्म त्यहाँ पुग्न सकेको छैन ।  

दुर्घटनामा मृत्यु भएका देवगणको लाश भक्तपुर अस्पतालमा रहेको छ । समाचार तयार पार्दासम्म उनको दाहसंस्कार भएको छैन । उनी जिवित नै रहेको ठहरिने र उनको सटामा अर्को प्रतिस्थापन गर्न नसकेकोले जात्रा सञ्चालनमा अवरोध भएको जनाइएको छ ।

दुर्घटनापछि उचित क्षतिपूर्ति नदिएको भन्दै पीडितहरु बुधबार रातिदेखि नै आन्दोलित थिए । आन्दोलन बिहीबार रातिसम्म पनि चलिरहेको थियो । यही कारण जात्रामा अवरोध भएको हो । सहमतिपछि मृतक देवगणको लाश जलाई अर्को देवगण सटाभर्नामा राखेपछि मात्रै जात्रा सञ्चालन गर्न सकिने छ ।

मृतकको घरमा बृद्ध आमा लक्ष्मीशोभा बनमाला र बुबा गणेशराम बनमाला मात्रै रहेको भन्दै पीडितहरु आन्दोलित थिए । घर धान्ने एउटै मात्रै छोराको मृत्यु भएको भन्दै बृद्धआमाबुबाको जीवनका लागि उचित क्षतिपूर्ति दिने माग पीडितहरुले गर्दै आएका थिए । परिवारका दुई जना छोरीहरुको भने विवाह भइसकेको छ । ठूली छोरीका ज्वाई रविन्द्र वनमालाले सासुससुरा मात्रै बाँकी भएकोले उनीहरुको जीवनयापनका लागि उचित क्षतिपूर्तिका साथ बुधबार रातिदेखि बिहीबार रातिसम्म आफूहरु जगाती प्रहरीमा आन्दोलनरत रहेको बताए ।

यसैबिच मृतकलाई १६ लाख क्षतिपूर्ति दिने गरी सहमति भएको जनाइएको छ । राति अवेर भएको सहमति अनुसार आन्दोलन स्थगित भएको जनाइएको छ ।  

प्रहरीका अनुसार राति दुर्घटनामा गम्भीर घाइते भई देवगणको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल चालक भक्तपुर–७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते अवस्थामा छन् । उनी बी एन्ड बी अस्पतालमा उपचाररत छन् । साथै फरार टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर पनि हाल जगाती प्रहरी बृतमा राखिएको छ । प्रहरीका अनुसार ठक्कर दिने टिपर स्वास्थ्यमन्त्री किरण थापाका सुपुत्रको नाममा रहेको जनाइएको छ । स्वास्थ्यमन्त्री एवं बागमती प्रदेशका सदस्य थापा क्रसर व्यवसायीसमेत हुन् ।

प्रकाशित: १५ माघ २०८२ १९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App