हिउँदयाममा तरकारीको उत्पादन बढेसँगै मूल्य घट्ने र सस्तोमा उपभोग गर्न पाउने अपेक्षा उपभोक्ताले गर्छन् । यस वर्ष भने हिउँदयाम सकिनै लाग्दा पनि तरकारी सस्तो नभएको गुनासो उपभोक्ताले गरेका छन् । आलु र मुलाको मूल्यस्थिर रहे पनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको स्थानीय डबल बोहराले बताए ।
उनले भने, ‘अहिले त तरकारीको सिजन हो नि ! सिजन भएर के गर्नु ? अझै महंगो छ । आउँदो बर्खामा त तरकारी छोई नसक्नु हुन्छ होला ।’
मूल्य वृद्धि अस्वभाविक ढंगले बढ्दै गए पनि यसको अनुगमन गरेर मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको उनको भनाइ छ ।
टेकु बस्ने सरिता दुलाल विगतमा भन्दा अहिले तरकारीको मूल्य निकै बढेको बताउँछिन् । उनले भनिन्, ‘पहिले हप्तामा एक पटक तरकारी लिन जाँदा हजारदेखि एक हजार पाँच सय खर्च हुन्थ्यो । अहिले त त्यो पैसाले केही पनि आउँदैन । महँगीको मार जताततै छ ।’
गत वर्ष हिउँदमा तरकारीको मूल्य निकै कम भए पनि यस वर्ष सिजन सकिन लाग्दासमेत तरकारीको मूल्य निकै आकासिएको उनले बताइन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार अहिले तरकारीको मूल्य घटनेक्रम सुरु भइसकेको छ । गोलभेडा र काउलीको मूल्य घट्न नसकेको भए पनि अन्य तरकारीको मूल्य भने घटिसकेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।
यस वर्ष बेमौसमी वर्षालगायत विभिन्न कारणले गर्दा समयमा तरकारी खेती हुन नसकेको हुँदा तरकारीको मूल्य बढेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।
बजारमा माग अनुसार तरकारी आयात नभएकाले गर्दा पनि तरकारी महँगिएको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।
प्रकाशित: १५ माघ २०८२ १९:५२ बिहीबार





