१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

रानाको शतक र ललितको उत्कृष्ट बलिङ

शंकर रानाको शतक र स्पिनर ललित राजवंशीको उत्कृष्ट बलिङमा नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलाइट कपमा पहिलो जित आत्मसात् गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा पुलिसले मंगलबार एपिएफलाई ९ विकेटले हराउँदै जय ट्रफीमा पहिलो जित निकालेको हो। मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल भने ‘ड्र’ भयो। पुलिसको जितमा स्पिनर ललित र ब्याटर शंकरले उत्कृष्ट प्रदर्शन गरे। शंकरले शतक प्रहार गर्दा ललितको नाममा कुल ९ विकेट रह्यो। ललितले पहिलो इनिङमा चार र दोस्रो इनिङमा पाँच विकेट लिए। ललित म्यान अफ दी म्याच पनि भए। कुल चार  टोली खेलिरहेको जय ट्रफीमा पुलिसले पहिलो खेलमा आर्मीसँग हार बेहोरेको थियो। दोस्रो खेलमा उत्कृष्ट बलिङ र ब्याटिङपछि एपिएफलाई हराउन सफल भयो।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल नेतृत्वको एपिएफको यो दोस्रो हार हो। एपिएफले ११३ रनको लक्ष्य दियो। त्यो लक्ष्य पुलिसले मात्र एक विकेट गुमाएर भेट्टायो। पुलिसको जितमा ओपनर कुशल भुर्तेल ७१ रनमा अविजित बनाए। उनले ५३ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। अमित श्रेष्ठ ३२ रनमा अविजित रहे। कुशल र अमितले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे। सोहेल कुँवर ७ रनमा आउट भए। एपिएफको बलिङमा भुवन कार्कीले १ विकेट लिए। पहिलो इनिङमा एपिएफ १८५ रनमा अलआउट भयो । पुलिसले २७७ रनमा सात विकेट गुमाएर इनिङ समाप्तिको घोषणा गर्‍यो। पहिलो इनिङ समाप्तिमा एपिएफ ९२ रनले पछि थियो।

दोस्रो इनिङमा एपिएफ दुई सय ४ रनमा अलआउट भयो। यससँगै पुलिसले एक सय १३ रनको लक्ष्य पाएको हो। दोस्रो इनिङमा एपिएफका ओपनर दीपक बोहोराले ९४ रन जोडे। १२९ बलमा उनले ९ चौका र तीन छक्का प्रहार गरे।

अमरसिंह राउटेला ३२, आसिफ शेख २१ तथा सन्दीप जोरा ११ रनमा आउट भए। पुलिसको बलिङमा ललित राजवंशीले पाँच, कुशल भुर्तेलले तीन तथा सागर ढकाल र शंकर रानाले समान एक विकेट लिए। त्यसअघि नेपाल पुलिसले टस जितेर बलिङ गर्ने निर्णय गर्‍यो। एपिएफको पहिलो इनिङमा सुमित महर्जनले ५५ रनको अर्धशतक बनाए। अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

पुलिसको बलिङमा ललित र सागर ढकालले समान ४ तथा कुशलले दुई विकेट लिए। पहिलो इनिङमा पुलिसले २७७ रन बनायो। मध्यक्रमका ब्याटर शंकर राना १०५ रनमा नटआउट भए। १५५ बलमा शंकरले तीन चौका र पाँच छक्का प्रहार गरे। दिलसाद अलीले ५८ र रासिद खानले ३० रन बनाए। एपिएफको बलिङमा इर्साद अहमद, अभिशेष गौतम, भुवन कार्की, युवराज खत्री, अमर रौटेला र सन्दीप जोराले समान एक विकेट लिए। पुलिसको ३७.५ अंक र एपिएफको ३८ अंक भएको छ।

 ओपनर आशुतोष घिरैयाको दुई अर्धशतकमा बागमतीले आर्मीविरुद्धको दोस्रो खेलमा ड्र गर्न सफल भएको छ। पहिलो खेलमा एपिएफले बागमतीलाई हराएको थियो तर दोस्रो खेलमा सुधारिएको ब्याटिङपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमतीले जित निकाल्यो।

बागमतीका आशुतोष प्लेअर अफ दी म्याच भए। उनले पहिलो इनिङमा ७७ रन र दोस्रो इनिङमा ७६ रनको अर्धशतक बनाए। बागमतीले ११८ रनको लक्ष्य दियो। त्यो लक्ष्य पछ्याएको आर्मीले चार विकेटको क्षतिमा ३९ रन बनायो। एकै ओभरमा सन्दीप लामिछानेले तीन विकेट लिए। यससँगै दोस्रो दिनको खेल पूरा भयो र खेल ‘ड्र’ भयो। पहिलो इनिङमा बागमतीले सात विकेटको क्षतिमा २५९ रन बनायो। आर्मीले सात विकेटको क्षतिमा ३५२ रन बनाएपछि इनिङ समाप्ति घोषणा गर्‍यो। आशुतोषसँगै रित गौतमले ५६ रनको अर्धशतकीय इनिङ बनाए। दोस्रो इनिङमा बागमतीले तीन विकेटको क्षतिमा २१० रन बनाएपछि इनिङ समाप्ति गर्‍यो। आर्मीले ११८ रनको लक्ष्य दियो।  

प्रकाशित: १३ फाल्गुन २०८२ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App