१६ चैत्र २०८० शुक्रबार
खेल

पारामा पनि दर्शकलाई अनुमति छैन

जापान सरकारले कोभिड १९ संक्रमण बढ्ने क्रममा रहेको भन्दै पारा ओलम्पिक २०२० मा दर्शक प्रवेशमा रोक लगाएको छ। केही महिनादेखि कोभिड १९ नियन्त्रणमा राख्ने भन्दै जापान सरकारले विभिन्न राज्यमा स्वास्थ्य संकटकाल घोषणा गरे पनि संक्रमण दरमा भने कुनै कमी आएको छैन। हालै सम्पन्न टोकियो ओलम्पिक २०२० मा पनि जापान सरकारले दर्शक प्रवेशमा अनुमति दिएको थिएन। पारा ओलम्पिक २०२० एक सातापछि सुरु हुँदै छ। ‘हालै मात्र टोकियो ओलम्पिक २०२० सफलतापूर्वक सम्पन्न भयो। त्यस दौरान अपनाइएका सुरक्षाविधि यस पटक पनि अपनाइनेछ। त्यसमा थप केही स्वास्थ्य मापदण्ड जारी गरिनेछ,’ जापान सरकार र अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले सोमबार जारी गरेको संयुक्त विज्ञप्ति भनिएको छ, ‘प्रतियोगितादौरान दर्शक प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ।’

यद्यपि उनीहरूले उद्घाटन तथा समापन समारोहमा भने केही विद्यार्थीलाई विशेष प्रस्तुतिका लागि रंगशाला प्रवेशको अनुमति दिने जनाएका छन्। जापानमा हाल दैनिक कोभिड १९ संक्रमितको संख्या २० हजार छ। टोकियोसहित अन्य पाँच राज्यमा लगाइएको स्वास्थ्य संकटकाल जारी छ। जापान सरकारले अन्य ७ राष्ट्रमा पनि स्वास्थ्य संकटकाल जारी गर्ने तयारी गरिरहेको छ। पारा ओलम्पिकमा ४ हजार ४ सय खेलाडी सहभागी हुने बताइएको छ। उनीहरूको दैनिक कोरोना परीक्षण हुनेछ।

जापानले कोभिड १९ संक्रमणको दर बढे पनि टोकियो ओलम्पिक २०२० सम्पन्न गरेको थियो। जापान सरकारले टोकियो ओलम्पिक २०२० को आयोजनापछि कोभिड १९ संक्रमितको संख्या बढ्यो भन्नुमा कुनै सत्यता नरहेको दाबी गर्दै आएको छ। टोकियो ओलम्पिक २०२० दौरान ओलम्पिक भिलेजमा ५ सय ४० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित: १ भाद्र २०७८ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App