१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गोल्डेन टिकट पाएकालाई कोरोनाको डर

धेरै लामो छलफलपछि आयोजक जापानले दर्शकबिना ओलम्पिक सञ्चालन गर्ने निर्णय गर्दा केही गोल्डेन टिकटबाट अनुमति पाएका दर्शक भने जारी कोरोना भाइरसको संक्रमणको त्रासमा छन्।  टोकियो सहरको दक्षिण–पश्चिममा तय भएको साइक्लिङ हेर्ने मौका पाएका मिचियो मिउरा र उनकी पत्नी मायुमीले दर्शकदीर्घामा बसेर खेलाडीलाई हौसला दिएका थिए । तर अहिले उनीहरूलाई कोरोनाको विषयले चिन्तित बनाएको छ। उनीहरूजस्तै गोल्डेन टिकट पाएर दर्शकदीर्घामा बसेका अन्यलाई पनि यही विषयले तनाव दिएको छ। 

स्वास्थ्य संकटकाल लगाएर आयोजना गरिएको प्रतियोगितामा दर्शक भएर नियाल्दा खुसी भएका उनीहरू कोरोनाको विषयले भने त्रसित भएका हुन्। ‘यदि कोरोना भाइरसको संक्रमण देखियो भने खेललाई नै नराम्रो दाग लाग्नेछ,’ गोल्डेन टिकट पाउने मायुमीले भनिन्। यसै क्रममा उनले जापानको व्यवस्थापनबाट अलि असन्तुष्ट रहेको प्रतिक्रिया दिएकी छिन्। महामारीको बीचमा पनि ओलम्पिक आयोजना भएको भन्दै सरकारको आलोचना गरेकी हुन्। ‘अन्तिम समयमा हामीले मौका पाएको भन्दै आउने निर्णय गरेका थियौं । आखिर सरकारले बन्द रंगशालामा खेल सञ्चालन गर्ने भनेको छ, सोही कारण बाक्लो दर्शकको उपस्थिति नहुनेमा विश्वस्त भएर रंगशाला आएका हौं,’ मायुमीले थपिन्। यस्तै फुजीमा रहेको रंगशालामा बुधबार १० हजार दर्शकलाई अनुमति दिइएको थियो। तर २२ हजार दर्शक क्षमता भएको रंगशालामा २६ सय मात्र रहेको भन्दै तथ्याङ्क राखिएको थियो। यस्तै अन्य खेल स्थलमा पनि छिटफुट दर्शकलाई अनुमति दिइएको छ।  

दर्शकबिना रंगशालामा खेल सञ्चालन गर्ने निर्णय हुँदा ३.६३ मिलियन टिकटमध्ये ७० हजार मात्र टिकट बिक्री हुन बाँकी थियो। निर्णय बाहिरिएसँगै टिकटका लागि लाइनमा रहेकाको आवेदनलाई खारेज गरिएको थियो भने रकम फिर्ताका लागि दिइएको निवेदनलाई आयोजकले स्वीकार गर्दै रकम फिता गर्ने काम पनि गरेको थियो। गोल्डेन टिकटबाट रंगशालामा अनुमति पाएकामध्येका केहीले मौका भएको भन्दै भ्रमण गर्न आएको प्रतिक्रिया दिएका थिए। साइक्लिङ हेर्न आएका ३७ वर्षीय दाइसुके ओनोले सरकारको बन्द रंगशालामा ओलम्पिक आयोजना गर्ने निर्णय कच्चा भएको भन्दै कटाक्ष गरे।  

‘यो ठाउँमा यति ठूलो खेल हुँदा हेर्ने मौका हामीले पाएका हौं। जुन हाम्रा लागि आखिरी मौका हो। अन्य स्थलमा हाम्रो लागि सौभाग्य मिल्दैन,’ दाइसुकेले भने, ‘बिनादर्शक ओलम्पिक सञ्चालन गर्ने सरकारको निर्णय अलि दूरदर्शी हुन सकेन।’ वर्षदिन पछि धकेलिएको ओलम्पिक कोरोना महामारीका कारण बिनादर्शक सञ्चालन भएको हो। जापानी नागरिकले महामारीको अवस्थामा खेल सञ्चालन नगर्न बारम्बार आग्रह गरे पनि सरकारले स्वास्थ्य संकटकाल लगाएर महाकुम्भ आयोजना गर्ने अठोट गरेको हो। यद्यपि बाहिरी देशबाट आउने खेलाडी र पदाधिकारीमा कोरोना संक्रमणको संकेत देखिएकोमा आयोजक आलोचित भएको छ। 

प्रकाशित: १४ श्रावण २०७८ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App