१ आश्विन २०७८ शुक्रबार
खेल

ह्विलचेयरबाट पाएको सफलता

‘ह्विलचेयरमा हिँडे पनि आमा जहिल्यै मलाई हेरेर रुनुहुन्थ्यो। अब तैंले केही गर्न सक्दैनस्। कसरी जीवन अगाडि बढाउँछस् ? यो परिवारको सहारा को हुन्छ भन्नुहुन्थ्यो,’ भावुक हुँदै पारा खेलाडी दिगमसिंह चेमजोङले सम्झिएका अतीत हुन् यी।

वैदेशिक रोजगारीका क्रममा भएको दुर्घटनाबाट हट्टाकट्टा दिगमसिंह ह्विलचेयरमा बस्नुपर्दा आमाको चिन्ताबारे स्मरण गर्दै आफ्नो कथा सुनाउँछन्। आमाकै त्यो रोदनलाई शक्तिमा बदल्न दिगमसिंहले गरेको अथक प्रयासले अहिले सार्थकता पाइसकेको छ। स्पष्ट भन्नुपर्दा उनी नेपाली खेलकुदका लागि परिचित नाम बनिसकेका छन् भने दुर्घटनामा परेर जीवन जिउने आशा कमजोर बनाइरहेका लागि प्रेरणा पनि। शरीरलाई दोष दिएर आफूलाई प्रताडित गर्नुको साटो घरको चार कुनाबाट निस्किएर केही गर्ने लक्ष्य राखे सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् उनी।  

नेपालको पारा टेबल टेनिस, बास्केटबल र क्रिकेटमा एक सफल खेलाडीका बारेमा उच्चारण हुँदा दिगमसिंहको नाम पनि जोडिने गर्छ। किनभने उनले ह्विलचेयरबाटै धेरै खेलबाट सफलतासँगै पाकिस्तानसम्म व्यावसायिक क्रिकेटको यात्रा तय गरेका छन्। आफ्नो परिवारको जीवनस्तर सुधार गर्न कयौं सपना बोकेर बाबुआमा र सन्ततिलाई सुखसाथ राख्ने उद्देश्यले उनी २१ वर्षको उमेरमा विदेश पलायन भए। तर, जीवनमा आफूले सोचेजस्तो कहाँ हुने रहेछ र ? दिगमसिंहको जीवन लक्ष्यअनुरूप अगाडि बढ्न सकेन।  

कतार गएको एक वर्षमै उनको जीवनमा नै ठूलो वज्रपात पर्न गयो। त्यहाँ उनी डेलिभर ब्वाइजका रूपमा काम गर्न थालेका थिए। एक दिन उनी सडक दुर्घटनामा परे, जसबाट उनले आफ्नो खुट्टा गुमाउनुप¥यो। एक प्रकारले उनी अशक्त भए। तर उनी फरक तरिकाले भने सक्षम भए। तर, त्यही बिर्सनलायक र दुःखद घटनाबाट उठेर उनले नेपाली खेलकुदमा आफ्नो चिनारी बनाए। दुर्घटनापश्चात् चिकित्सकले उपचारको क्रममा उनलाई कहिल्यै पनि आफ्ना खुट्टाले हिँडडुल गर्न सक्दैनौं भन्दा क्षणभरमै उज्यालो समय पनि उनका लागि अँध्यारो बन्यो।

‘डाक्टरले जब तिम्रो जिन्दगी ह्विलचेयरमै बित्छ भन्नुभयो, उज्यालो समय पनि एक्कासि अन्धकारजस्तो हुन पुग्यो। जसोतसो समालिने प्रयास गरे पनि मन किन मान्थ्यो र ?,’ उनले विगत सम्झिए। उनले ११ महिनासम्म अस्पतालमा बिताए। चेमजोङ परिवारका एक्ला छोरा थिए दिगम। १९ वर्षमै विवाहबन्धनमा बाँधिएका कारण उनमा थप जिम्मेवारी पनि थियो। त्यसैले उनी युवास्थामै ०६२ सालमा वैदेशिक रोजगारीका लागि कतार पुगे। तर, त्यहाँ उनले जीवनमा ठूलो संघर्ष सामना गर्नुप¥यो। ‘दुर्घटनामा मैले खुट्टा त गुमाएँ। उल्टै त्यहाँको पब्लिकले मेरै गल्तीका कारण त्यो भएको भने। तर केही सामाजिक अभियन्ताको सहायताले मैले न्याय पाएँ। यद्यपि, वर्षौंसम्म भने दुःख भोग्नुप¥यो,’ दिगमसिंह भन्छन्।

लामो समय अस्पतालमा रहँदा मेरो जीवन सकियो र अब म बाँच्नुको अर्थ छैन भन्ने लागेको थियो। यद्यपि, उनले आफूलाई समाले। एक दिन अस्पतालको बेडमा बसेर बाँकी जीवनका बारे कल्पना गरिरहेका थिए। सोही बेला एक जना मानिसले फुर्तिलो तवरबाट ह्विलचेयर चलाएर अगाडि बढिरहेको उनले देखे। तत्कालै उनले सो मानिसबारे नजिकका चिकित्सकसँग जानकारी लिए। पछि थाहा भयो, ती मानिस कतारका पारा खेलाडी रहेछन्। ‘सोसल वर्करको सहायतामा म कतार पारालम्पिक कमिटीमा गएँ। जब, त्यहाँ मजस्तै धेरै मानिसले विभिन्न खेल खेलिरहेको देखें। त्यसपछि मलाई बाँच्ने आंकाक्षा जागेर आयो। उनीहरूको खुसी र जोसले मेरो शरीरमा एक किसिमको ऊर्जा थपिदिएको थियो,’ त्यस दिनको स्मरण गर्दै दिगम भन्छन्।

त्यहाँका पारा खेलाडीको उत्साहका कारण उनमा पनि खेलप्रति मोह जाग्यो। उनी अवसरको खोजीमा थिए, जुन नेपाल फर्किएपछि मात्र पाउन सम्भव थियो। कतारमै उपचार गराइरहेको समयमा उनका पिताको स्वर्गवास भयो। त्यसले उनमा थप पीडा दियो। चेमजोङ परिवारका एक्ला छोरा उनी आफ्ना पिताको काजक्रिया गर्न पनि आउन सकेनन्। कतारमा लामो समय पुनस्र्थापना केन्द्रमा बसेपछि उनी देश फर्किए। तर उनी र उनको परिवार मोरङ गएनन्। काठमाडौंकै जोरापाटीस्थित अत्तरखेलमा उनी आफ्नी आमा, श्रीमती र एक छोरासँगै बस्ने थाले। हट्टाकट्टा र बलियो शरीर लिएर बिदेसिएको छोरा ह्विलचेयरमा बसेर फर्किंदा उनकी आमालाई यथार्थ स्विकार्न गाह्रो भइरहेको थियो।  

आमाको मन बुझाउन बेलाबेलामा उनी आफ्नी आमालाई बाहिर जाऊँ भन्थे। त्यसो गर्दा एक्लो भयो कि आमा नरुनुहोस् भन्ने उनको भित्री आकांक्षा थियो। ‘मलाई एक्लै चार कुनाको कोठामा देख्नेबित्तिक्कै आमा रुनुहुन्थ्यो। त्यसैले मन भुलाउन आमालाई बाहिर जाऊँ भन्थें र फर्किंदा केही सामना आफै बोक्ने गर्थें। म चाहन्थें कि मेरी आमाले अभैm मैले केही गर्न सक्छु भन्ने मनमा राख्नुहोस्,’ दिगम बताउँछन्। यो क्रम करिब एक वर्षसम्म चल्यो। एक दिन उनले नेपालमा पारा स्विमिङ च्याम्पियनसिप हुँदै छ भन्ने जानकारी पाए। उनी कुनै पनि खेलबाट अवसरको खोजीमा थिए। उनले चार महिनाको स्विमिङ प्रशिक्षण लिए।  

पहिलो सहभागितामै उनी पूर्वच्याम्पियन कृष्ण चौधरीलाई हराउँदै च्याम्पियन भए। ‘त्यो प्रतियोगिताले नै मेरो जीवनमा धेरै उत्साह थपिदियो। मैले पारा खेलाडीका रूपमा आफ्नो पहिचान बनाउन सकेँ। शारीरिक रूपमा मैले केही गुमाए पनि देशका लागि अभैm केही गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो,’ दिगमले भने। सोही आत्मविश्वासका कारण उनी आज नेपालको बास्केटबल, ह्विलचेयर क्रिकेट र टेबल टेनिसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिरहेका छन्। हाल उनी ओलम्पिक लक्ष्य राखेर टेबल टेनिसको दैनिक अभ्यास पनि गरिरहेका छन्।  

एबल खेलाडीसँग पनि उनी अभ्यास गर्ने गर्छन्। ‘ओलम्पिक र एसियन गेम खेल्ने लक्ष्य छ, त्यसैले गत मंसिरदेखि दैनिक अभ्यास गरिरहेको छु,’ दिगमले भने,‘लामो समयदेखि प्रतियोगिता नभएकाले अभ्यासलाई निरन्तरता दिनुको विकल्प छैन। अपाङ्ग हस्पिटलमा बिहान दुई र दिउँसो दुई घण्टा अभ्यास गर्ने गरेको छु। एबल खेलाडीसँग पनि प्रतिस्पर्धा गर्ने गर्छु।’ टिम गेमका रूपमा उनले ह्विलचेयर क्रिकेटबाट पनि छुट्टै पहिचान बनाए। उनले सन् २०१३ देखि ह्विलचेयर क्रिकेट खेल्न सुरु गरे। सुरुआतदेखि उनी नेपालका उपकप्तान हुन्।

सन् २०१८ बाट भने उनी कप्तान भए। गत वर्ष चार देश सहभागी नेपालमै सम्पन्न एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन रह्यो। उनको अलराउन्ड प्रदर्शनका बावजुद नेपाल भारतसँगको पहिलो खेलमा पराजित भयो।  

गत वर्ष पोखरामा सम्पन्न पारा टेबल टेनिस च्याम्पियनसिपमा उनी दोस्रो भए। उनी फाइनलमा केशव थापासँग सातौं सेटमा पराजित भए। सन् २०१७ मा उनले पाकिस्तानमा ह्विलचेयर क्रिकेट लिगमा कराची इगल्सबाट खेले। विदेशमा व्यावसायिक लिग खेल्ने नेपालका पारा खेलाडीका रूपमा समेत उनले पहिचान बनाइसकेका छन्। सो वर्ष उनी इन्टरनेसनल ह्विलचेयर क्रिकेट काउन्सिलद्वारा ब्याट्सम्यानको वरीयतामा दोस्रो स्थानमा समेत परे।  

प्रकाशित: ९ चैत्र २०७७ ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App