यही चैतको तेश्रो साता पोखरामा रिङ रेस्लिङ आयोजना गरिदैंछ । पोखरा रंगशालामा चैत २० र २१ गते दोस्रो संस्करणको आरडब्लु राष्ट्रिय च्याम्पियनसिप हुदैंछ । नेपाल रिङ रेस्लिङको आयोजनामा रंगशालास्थित बहुउद्देश्यीय कर्भडहलमा नेपालका चर्चित रेस्लरहरुको भीडन्त हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
भीडन्तमा २५ जना रेस्लर रिङमा च्याम्पियन बेल्टको लागि प्रतिस्पर्धा गर्नेछन् । चारजना महिला रेस्लर तथा २१ पुरुष रेस्लरले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिईन् । तीन वटा तौल समूहमा प्रतिस्पर्धा गराईने छ । कोर, लाईट र हेभीवेट समूहमा प्रतिस्पर्धा हुने उनले बताईन ।
नुवाकोटे टाईगर(कमल तामाङ), थागु, द युव, डेविड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोबर्ट, तन्नु, सिजे, युविएल, एससी, हुम्ली फाईटर, योगी, जोन लगायतका रेस्लरहरु प्रतिस्पर्धाको लागि रिङमा उत्रनेछन् । च्याम्पियन बेल्ट जित्नेले नगद एकलाख रुपैयाँ र दोस्रो हुनेले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
आरडब्लुको पहिलो संस्करणको राष्ट्रिय च्याम्पियनसिप संघले काठमाडौंमा आयोजना गरेको थियो । दोस्रो संस्करण पोखरामा आयोजनाको लागि आवश्यक तयारी गरिसकिएको छ ।
संघले च्याम्पियनसिप कोभिडकै कारण एकवर्ष पछि सारिएको जनाएको छ । ‘एउटा रेस्लर तयार पार्न १५ देखि १६ महिना लाग्छ,’ नुवाकोटे टाईगर(कमल तामाङ)ले पत्रकार सम्मेलनमा भने, ‘त्यसैले यसलाई स्पोर्टस बेसमा लैजादैछौं ।’ संघले आगामी असारमा प्रदेशस्तरीय रेस्लिङ प्रतिस्पर्धा गराउने योजना रहेको समेत सुनायो ।
संघले २०७३ सालमा नेपाल–भारत मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेको थियो । २०७४ सालमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा बिस्तार गर्ने लक्ष्य राखेको छ । एकेडेमी नै स्थापना गरिसकेको संघले जनाएको छ । एकेडेमीमा नुवाकोटे टाईगरले नियमित रुपमा खेलाडीलाई प्रशिक्षण दिईरहेका छन् । नुवाकोटे टाईगरले १२ वर्षदेखि रिङ रेस्लिङमा आवद्ध छन् । दुईदिने प्रतिस्पर्धाको लागि २९ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
प्रकाशित: ४ चैत्र २०७७ ०९:३५ बुधबार