३ वैशाख २०८३ बिहीबार
image/svg+xml
खेल

शीर्ष दुई होडमा आर्मी र पुलिस बलिया

विनोद भण्डारीको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं जितसँगै शीर्ष दुई स्थानको दाबेदारी बलियो बनाएको छ।

जनकपुरमा बिहीबार भएको खेलमा ओपनर विनोदको शतकमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशमाथि सात विकेटको जित निकाल्दै प्रतियोगितामा शीर्ष दुई स्थानको होड बलियो बनाएको हो। विनोदले गण्डकीसँगको खेलमा बाहेक उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् तर आफ्नो गृह टोली सुदूरपश्चिमविरुद्ध भने उनले शतक नै पूरा गरे र आर्मीलाई फाइनलमा प्रतिस्पर्धा गर्ने लक्ष्यनजिक पुर्‍याए। यस प्रतियोगितामा एक मात्र अपराजित टोली आर्मीको सातौं खेलबाट १३ अंक भएको छ। जुन दोस्रो स्थानको सुदूरपश्चिमभन्दा तीन अंक तथा तेस्रो र चौथो स्थानका नेपाल पुलिस क्लब र मधेस प्रदेश (समान ९ अंक) भन्दा चार अंकले बढी हो।

तीन विभागसहित कुल १० टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। अहिलेसम्म सातौं स्थानको बागमती प्रदेशको पनि फाइनलमा पुग्ने अंक गणीतिय सम्भावना जीवन्त छ।

बिहीबार आर्मीविरुद्ध सुदूरपश्चिमले जित निकालेको भए शीर्ष दुई स्थानको होडमा पुछारका टोलीको सम्भावना कमजोर हुने थियो तर खराब ब्याटिङसँगै सुदूरपश्चिमको हारपछि शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्न सम्भावना सातौं स्थानको टोलीको पनि खुला रहेको हो। रामजानकी क्रिकेट मैदानमा सुदूरपश्चिमले १५१ रनको झिनो लक्ष्य दियो तर आर्मीले २०.२ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। ओपनर विनोदले एक सय रन जोड्दै जितको आधार बनाए।

उनले ७५ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे। दोस्रो ओभरमै ओपनर तृतराज दास ५ रनमा आउट भए। यससँगै आर्मीको सुरुआत राम्रो हुन सकेन। दोस्रो विकेटका लागि विनोदले भीम सार्कीसँग ८७ रनको महत्त्वपूर्ण साझेदारी गरे। भीम १६ रनमा आउट भए। कुशल मल्ल २६ रनमा अविजित रहे। उनको इनिङमा समान दुई चौका र छक्का रह्यो। सुदूरपश्चिमको बलिङमा कप्तान शेर मल्लले दुई र मिलन बोहोराले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय सही साबित हुन सकेन। सुदूरपश्चिम ३८.१ ओभरमा १५० रनको सामान्य योगफलमै समेटियो। आर्मीका बसिर अहमदले पाँच विकेट लिँदै सुदूरपश्चिमलाई सस्तैमा रोके।

आठौं नम्बरका ब्याटर नारायण जोशीले ६३ रनको अर्धशतकीय योगदान दिए। ६० बलमा उनले तीन चौका र पाँच छक्का प्रहार गरे। अन्य ब्याटरले राम्रो इनिङ खेल्न सकेनन्। ओपनरद्वय अभिशेक पालले २४ र खडक बोहोराले १३ रन तथा अशोक धामीले ११ रनको योगदान दिए। बसिरले ९.१ ओभरमा एक मेडन राख्दै ३५ रन मात्र दिए। नरेन साउद र साहब आलमले समान दुई तथा आकाश चन्दले एक विकेट लिए। आठ खेलबाट सुदूरपश्चिमको १० अंक छ । यो हारपछि लिगको शीर्ष दुई स्थानमा रहने सुदूरपश्चिमको लक्ष्य कमजोर बन्यो। सुदूरपश्चिमले अब लिगको अन्तिम खेलमा पुलिसलाई हराउँदा अन्य टोलीको नतिजा पनि भर पर्नुपर्नेछ।

दिनेश उत्कृष्ट लय

ओपनर दिनेश खरेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन जारी रहँदा नेपाल पुलिस प्रतियोगितामा चौथो जितसँगै शीर्ष दुई स्थानको होडमा फर्किएको छ।

वीरगन्जमा बिहीबार भएको खेलमा पुलिस कर्णाली प्रदेशमाथि ४८ रनको जित निकाल्दै प्रतियोगितामा शीर्ष दुई स्थानको होडमा फर्किएको हो। पुलिसको जितमा दिनेशले अर्धशतक र ललित राजवंशीले पाँच विकेट लिँदै महत्त्वपूर्ण योगदान दिए। दिनेशले जारी प्रतियोगितामा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरिरहेका छन्। ६ इनिङमा ३०८ रन जोड्दै उनी सर्वाधिक रन बटुल्ने सूचीमा दोस्रो स्थानमा छन्। बलिङतर्फ पनि दिनेशले १२ विकेट पूरा गरिसकेका छन्। कर्णालीविरुद्ध ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि विकेटविहीन भए।  

नारायणी क्रिकेट मैदानमा पुलिसले दुई सय ६२ रनको लक्ष्य दियो। जबाफी लक्ष्य पछ्याएको कर्णाली ४५.२ ओभरमा २१३ रनमा नै अलआउट हुन पुग्यो। पहिलो ओभरमै ओपनर रवीन्द्र शाहीले १२ रनमा आउट भए। दोस्रो विकेटका लागि सुनील धमला र विपिन शाहीबीच ४७ रनको साझेदारी बन्यो। सुनील ३४ र विपिन १४ रनमा पभेलियन फर्किए।

मध्य क्रमका ब्याटर अर्जुन घर्तीले ४६ र विपिन रावलले २८ रनको योगदान दिए। कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न नसक्दा कर्णालीले लक्ष्य भेट्टाउन सकेन। ५६ बल खेल्दै अर्जुनले समान दुई चौका र छक्का प्रहार गरे। पुलिसको बलिङमा स्पिनर ललितले पाँच विकेट लिँदै कर्णालीको इनिङ धराशयी बनाए।

करण केसीले तीन तथा दीपक चन्द र आरिफ शेखले समान एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६१ रनको योगफल बनाएको थियो।

ओपनर दिनेशले ८२ रनको अर्धशतकीय इनिङ खेले। उनले १०० बलमा ९ चौका र एक छक्का प्रहार गरे। अमित श्रेष्ठ ३०, कप्तान आरिफ शेख २७, दिलसाद अली २३ तथा शंकर राना १८ रनमा आउट भए। तल्लो क्रमका ब्याटर करण २१ रनमा अविजित रहे। कर्णालीको बलिङमा प्रकाश जैसीले तीन तथा दिनेश अधिकारी र अनुज चनाराले समान दुई विकेट लिए। कर्णालीको आठ खेलबाट तीन अंक मात्र छ।

प्रकाशित: २७ चैत्र २०८२ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App