३ वैशाख २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानका प्रधानमन्त्रीसहित तीन जनालाई नोबेल पुरस्कार दिन माग

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, सेना प्रमुख आसिम मुनीर र उपप्रधानमन्त्री इशाक डारलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न पाकिस्तानको पञ्जाब विधानसभामा प्रस्ताव पेश गरिएको छ।

अमेरिका र इरानबिचको युद्धविराममा सफल मध्यस्थता गरेको भन्दै नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीको समयसीमा सकिनु केही घण्टा अघि पाकिस्तानले दुई हप्ताको युद्धविराम गराउन सफलता भएको थियो। यस प्रयासले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न र विश्वव्यापी शान्ति जोगाउन महत्वपूर्ण भूमिका खेलेको प्रस्तावमा उल्लेख छ। 

यसैबिच, इस्लामाबादमा शनिबारदेखि सुरु हुने वार्ताका लागि पाकिस्तानले उच्च सुरक्षा सतर्कता अपनाएको छ। १० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएका छन् भने रेड जोनलाई पूर्ण सुरक्षित बनाइएको छ। उपप्रधानमन्त्री डारले वार्तामा सहभागी हुन आउने विदेशी प्रतिनिधि र पत्रकारहरूलाई 'भिसा-फ्रि' बोर्डिङ सुविधा दिन एयरलाइन्सहरूलाई निर्देशन दिएका छन्। 

डारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एयरलाइन्सहरूलाई भिसा बिना त्यस्ता सबै व्यक्तिहरूलाई बोर्डिङ अनुमति दिन अनुरोध गरिएको छ। पाकिस्तानका अध्यागमन अधिकारीहरूले उनीहरूलाई आगमनमा भिसा जारी गर्नेछन्।’ अमेरिकी प्रतिनिधिमण्डल शुक्रबार इस्लामावाद आइपुग्नेछ, जबकि इरानी प्रतिनिधिमण्डल पहिले नै आइपुगिसकेको छ।

अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन् भने सभामुख मोहम्मद बाघेर गालिबाफले इरानको प्रतिनिधित्व गर्नेछन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनिन्, ‘अमेरिकाले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा मध्यपूर्वका लागि अमेरिकी राजदूत स्टिभ विटकफ र जारेड कुशनर सहितको वार्ताकारहरूको टोली इस्लामाबाद पठाउँदैछ, जसको पहिलो चरण शनिबार हुँदैछ।’ 

यस ऐतिहासिक वार्ताले इरान विरुद्धको सम्भावित युद्ध अन्त्य गर्ने विश्वास गरिएको छ। एजेन्सी

प्रकाशित: २७ चैत्र २०८२ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App