आइपीएलमा शनिबार दुई खेल हुँदै छ। दिनको पहिलो खेलमा पञ्जाब किंग्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछन्।
पञ्जाबको घरेलु मैदान नयाँ चण्डीगढको महाराजा यादविन्द्र सिंह स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ।
आज यी दुबै टोली आफ्नो चौथो खेल खेल्दैछन्। पञ्जाबले तीनमध्ये दुई खेल जितेको छ भने कोलकाता नाइट राइडर्स विरुद्धको अघिल्लो खेल वर्षाका कारण रद्द भएको थियो। अर्कोतर्फ, हैदराबादले तीनमध्ये दुई खेल हारेको छ र एउटा जितेको छ।
हैदराबाद र पञ्जाबले हालसम्म आइपीएलमा मा २४ खेल खेलेका छन्, जसमध्ये हैदराबादले १७ र पञ्जाबले ७ खेल जितेको छ।
यस्तै, आजको दोस्रो खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दैछन्। चेन्नईको एम. चिदम्बरम स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ।
चेन्नईले यसअघिका तीन खेलमा लगातार हार बेहोरेको छ। आज टोलीले पूर्व कप्तान एमएस धोनी बिना खेल्नेछ। यसैबीच, अक्षर पटेलको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले दुई खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ।
चेन्नई र दिल्लीबीच हालसम्म ३१ वटा आइपीएल खेल खेलिएका छन्। चेन्नईले १९ वटामा जित हासिल गरेको छ भने दिल्लीले १२ खेल जितेको छ।
प्रकाशित: २८ चैत्र २०८२ ११:२२ शनिबार





