७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय महिला लिग: दुई खेलअगावै एपिएफलाई उपाधि

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएपछि दुई खेलअगावै राष्ट्रिय महिला लिग फुटबलको विजेता बनेको एपिएफले अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिएको छ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा विभागीय टोलीद्वय आर्मी र पुलिसले १–१ को बराबरी खेलेसँगै एपिएफ दुई खेलअगावै उपाधि उचाल्न सफल भएको हो। बुधबारकै अर्को खेलमा च्याम्पियन एपिएफले विराटनगरलाई हराउँदा लिगमा अपराजित यात्रा ११औं खेलमा समेत कायम रहेको हो।  

स्ट्राइकर सावित्रा भण्डारीबिना मैदान उत्रिएको एपिएफले अग्रता लिन दोस्रो हाफ कुर्नुपरेको थियो। सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदानबाहिर रहेपछि एपिएफले अघिल्ला खेलमा जस्तो प्रदर्शन गर्न सकेन। यद्यपि एपिएफलाई संघर्षपूर्ण जित दिलाउन अनिता केसीले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।  

यसअघि पहिलो हाफ प्रतिस्पर्धात्मक बन्दा विराटनगरले एपिएफलाई दबाबमा राखेको थियो। केही राम्रा अवसर सिर्जन गरे पनि विराटनगरका स्ट्राइकरले बलियो एपिएफको रक्षापंक्तिलाई चिर्न सकेनन्। दोस्रो हाफमा भने एपिएफ हाबी हुँदा अग्रता लिन सफल भयो। पछि परेपछि विराटनगर खेलमा फर्किन सकेन र अंक सुम्पिन बाध्य बन्यो।  

यसअघि दिनको पहिलो खेलमा उपाधियात्रालाई जीवन्त राखेको आर्मी पुलिससँग रोकिन पुग्यो। आर्मीकी पुनम जर्गामगरले १७औं मिनेटमा आत्मघाती गोल गरेपछि पुलिसले खेलमा सुरुआती अग्रता पाएको थियो। अमृता जैसीले हेड गरेको बललाई पुनमले रोक्ने प्रयास गर्दा बल गोलमा परिणत भएको थियो।

त्यसपछि दबाबमा भए पनि सम्हालिएको प्रदर्शन गरेको आर्मी दोस्रो हाफमा खेलमा फर्किन सफल भयो। पहिलो हाफमा अग्रता पाएको पुलिसले दोस्रो हाफमा भने अग्रतालाई कायम राख्न सकेन। ५५औं मिनेटमा आर्मीकी रश्मि घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याइन्। 

आर्मीले स्पष्ट जितका लागि बाँकी समयमा आधा दर्जन प्रयास गरे पनि सफल हुन सकेन र दुबै टोलीले अंक बाँड्दा आर्मीको उपाधियात्रा समाप्त भयो र एपिएफ दुई खेलअगावै उपाधिका हकदार बन्न पुग्यो। लिगमा बिहीबार वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: ६ फाल्गुन २०७७ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App