प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बुधबार दोस्रो जित हात पारेसँगै प्रदेश– १ समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ। एक खेलअगावै सेमिफाइनल यात्रा पक्का गर्ने क्रममा बुधबार प्रदेश– १ ले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्यो।
लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य प्रदेश– १ ले ५ विकेट गुमाउँदै १५.१ ओभरमा पूरा गर्यो। प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले १२, अप्सरी बेगमले ९, निग्मा तामाङले ७ रनको योगदान गरे। बलिङतर्फ सुदूरपश्चिमका लागि दीपा जोराले २ तथा कविता कुँवर र कविता जोशीले १/१ विकेट लिएका थिए। खराब मौसमका कारण १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि कविता जोशीले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। ओपनर रेवती धामीले ८ र लक्ष्मी साउदले ९ रनको योगदान गरे। बलिङतर्फ प्रदेश– १ का लागि संगीता राईले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ३ विकेट हात पारिन्। शवनम राईले २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले पनि समान १/१ विकेट हात पारेका थिए।
यसअघि समूह ‘बी’ मा रहेको प्रदेश– १ ले मंगलबार पहिलो खेलमा बाग्मतीलाई ४६ रनले पराजित गर्यो। सुदूरपश्चिमको यो पहिलो हार हो। सुदूरपश्चिमले पहिलो खेलमा मंगलबार गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो।
यस्तै प्रतियोगिताअन्तर्गत बुधबार भएको दोस्रो खेलमा बाग्मतीले गण्डकी प्रदेशलाई पराजित गर्यो। मंगलबार पराजित बाग्मतीले पहिलो जित दर्ता गर्ने क्रममा गण्डकीलाई ६५ रनले पाखा लगायो। बाग्मतीले दिएको १ सय ५४ रनको योगफल पछ्याएको गण्डकी निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ८८ रनमा सीमित हुन पुग्यो।
गण्डकीका लागि सृष्टि पौडेलले सर्वाधिक ३० रन तथा कप्तान शीला क्षत्रीले २६ रनको योगदान गरे। बलिङतर्फ बाग्मतीका लागि कप्तान अस्मिना कर्माचार्य, सुमन खतिवडा, आरती बिडारी र निशा तामाङले १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो। विशाल योगफल खडा गर्ने क्रममा कञ्चन श्रेष्ठले २७ र सुमनले ३८ रनको योगदान गरे।
बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिएकी थिइन्। प्रतियोगिताअन्तर्गत बिहीबार समूह ‘बी’ का अन्तिम खेलहरू हुनेछन्। जसअन्तर्गत पहिलो खेलमा सुदूरपश्चिमले बाग्मतीको सामना गर्दा दोस्रो खेलमा प्रदेश–१ ले गण्डकीको सामना गर्नेछ।
प्रकाशित: १६ पुस २०७७ ०४:१८ बिहीबार