युरोप भ्रमणपछि नेपाली क्रिकेटरको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को अन्तर्राष्ट्रिय वरियतामा उथलपुथल देखिएको छ। विशेषतः स्पिनर द्वय ललित राजवंशी र सन्दीप लामिछानेले आफ्नो वरियतामा उल्लेखनीय सुधार गरेका छन्।
आइसिसीले भर्खरै जारी गरेको वारियता सूचीमा सबैभन्दा माथि दीपेन्द्रसिंह ऐरी नै छन्। उनी टी–२० आई अलराउन्डरतर्फको वरियताको तेस्रो स्थानमा यथावत् छन्। ऐरीभन्दा अगाडि पहिलो वरियतामा भारतका हार्दिक पाण्ड्या र अस्ट्रेलियाका मार्कस स्टोइनिस छन्। स्टोइनिस र ऐरीबिचको अन्तर जम्मा एक रेटिङ प्वाइन्टको मात्रै छ।
यस्तै टी–२० आई अलराउन्डरतर्फकै वरियतामा कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ३२ औँ स्थानमा पुगेका छन्। यही वरियतामा गुल्सन झा ८ स्थान खस्किएर ६१ औँ, कप्तान रोहित पौडेल ५ स्थान खस्किएर ६६ औँ स्थानमा पुगेका छन्।
युरोप भ्रमण टोलीमा नरहेका कुशल मल्लको वरियता ६ स्थान झरेर ६८ औँ स्थानमा पुगेको छ। यस्तै यही वरियतामा करण केसी एक स्थान झरेर ८१ औँ स्थानमा छन्।
यस्तै अन्तर्राष्ट्रिय एक दिवसीय अलराउन्डरतर्फको वरियतामा दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किएर ५४ औँ स्थानमा छन्। ऐरीबाहेक सोमपाल कामी ५६ औँ स्थान, सन्दीप लामिछाने ५९ औँ स्थानमा यथावत् छन्। करण केसी पाँच स्थान तल झरेर ६५ औँ स्थानमा रहँदा कुशल मल्ल ६ स्थान झरेर ७४ औँ, ललित राजवंशी तीन स्थान सुधार गर्दै ८२ औँ, गुल्शन दुई स्थान झरेर ९२ औँ र आरिफ शेख २ स्थान सुधार गर्दै ९९ औँ स्थानमा समेटिएका छन्।
यस्तै वानडे ब्याटर वरियतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ८७ औँ, आरिफ शेखले १३ स्थान सुधार गर्दै ९० औँ, आशिफ शेख ४ स्थान खस्कँदै ९४ औँ र कप्तान रोहित एक स्थान खस्कँदै ९९ औँ स्थानमा देखिएका छन्।
टी–२० आई ब्याटर वरियतामा दीपेन्द्रसिंह ऐरी ६१ औँ स्थानमा यथावत् रहँदा कप्तान रोहित दुई स्थान खस्किएर ६६ औ, आशिफ शेख दुई स्थान खस्किएर ७८ औँ स्थानमा छन्। कुशल भुर्तेलले १० स्थान सुधार गरेर ८३ औँ स्थानमा पुगेका छन्।
वानडे र टी–२० आई दुवै फरम्याटको बलर वरियतामा ललित राजवंशी नेपालका तर्फबाट सबैभन्दा माथि छन्। वानडेमा ललितले ५ स्थान सुधार गरेर ४८ औँ स्थानमा पुग्दा सन्दीप लामिछानेले एक स्थान सुधारेर ५४ औँ स्थानमा पुगेका छन्।
वानडे बलरमै दीपेन्द्रको तीन स्थान खस्किएर ७९ स्थानमा छन्। करण केसीको पनि सात स्थान खस्किएको छ जसले उनलाई ८४ औँ स्थानमा पुगाएको छ। सोमपाल कामी ९४ औँ स्थानमा यथावत् छन्।
टी–२० आई बलरमा ललित राजवंशीले २९ स्थान सुधारेर ५४ औँ स्थानमा पुग्दा सन्दीप लामिछानेले ४१ स्थान सुधारेर ७५ औँ स्थानमा पुगेका छन्। यो वरियतामा दीपेन्द्र एक स्थान खस्किएर ८१ औँ स्थानमा छन्।
टिम वरियतामा भने नेपाल वानडेमा १७ औँ र टी–२० आईमा १८ औँ स्थानमा छन्। युरोप भ्रमणमा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको त्रिकोणीय सिरिजमा चार/चार वानडे र टी–२० आई खेल खेलेको थियो।
प्रकाशित: ११ असार २०८२ १८:०७ बुधबार





