२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

यु-१६ राष्ट्रिय क्रिकेट कर्णाली र कोशीको जित

सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. शाह स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार कर्णाली प्रदेश र कोशी प्रदेश विजयी भएका छन् ।  

वीरेन्द्रनगर मैदानमा भएको खेलमा घरेलु टोली कर्णालीले बागमतीलाई तीन विकेटले पराजित गर्दा कालुङचोक मैदानमा कोशीले लुम्बिनीलाई २१ रनले पराजित गर्यो । यो जीतसँगै कर्णाली अंक तालिकाको दोस्रो र कोशी तेश्रो स्थानमा उक्लिएको छ । समान तीन खेल खेलेका यी दुबै टोलीले दुई खेलमा जीत र एकमा हारसहित ४ अंक जोडेका छन् । रनरेटका आधारमा कर्णाली दोस्रो स्थानमा रहेको हो ।  

बागमतीले दिएको २३९ रनको लक्ष्य कर्णालीले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । उसको जीतमा रोशन शाहीले ६९, भूपेन्द्रजंग शाहीले ६७ र कौस्तुभ खड्काले ३९ रन जोडे ।  

बागमतीका प्रशिद्ध जैसी र रोमन भट्टराईले समान दुई–दुई विकेट लिए ।  

यसअघि कर्णालीविरुद्ध टस जितेर ब्याटिङ रोजेको बागमतीले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २३८ रनको योगफल तयार पारेको थियो । बागमतीका जोय थापाले ७२, शिवशक्ति महतोले ४६ र सुर्याशु कोइरालाले ४० रन बनाए ।  

कर्णालीका लागि कैलाश खड्काले चार र कप्तान विपिनप्रसाद शर्माले २ विकेट लिए । 

कालुङचोक मैदानमा भएको अर्को खेलमा लुम्बिनीलाई कोशीले २१ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको कोशीले खेल सकिन एक ओभर बाँकी छँदा सबै विकेट गुमाउँदै १८१ रन बनायो । ओपनर एशिल मण्डलले ६० र रविन मण्डलले नटआउट ३९ रन बनाए ।  

लुम्बिनीका लागि लक्ष्मण कुमालले चार, प्रिन्स पलले तीन तथा चन्द्र थापाले दुई विकेट लिए ।

बलिङ राम्रो गरेपनि लुम्विनीले १८२ को लक्ष्य पूरा गर्न सकेन । अघिल्लो खेलमा दोहोरो शतक हानेर चम्किएका लुम्विनीका रौनक श्रीवास्तवले आप्mनो हिटिङ शैली पछ्याउँदै ६६ रन जोडे । आरिफ खानले ४७ बलमा ५० रन बनाएपनि अन्यको प्रदर्शन राम्रो नहुँदा लुम्विनी १ सय ६० मा अलआउट हुनपुग्यो ।

लुम्बिनीलाई हराउन कोशीका कविराज खत्रीले ६ विकेट लिए । सुयोग भट्टराईले तीन तथा रविन मण्डलले एक विकेट लिए । 

प्रकाशित: २२ जेष्ठ २०८२ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App