एक भारतीय पर्यटकमाथि ट्रान्सजेन्डर महिलाहरूको समूहले आक्रमण गरेको छ। घटना गत शनिबार बिहान थाइल्याण्डको पर्यटकीय सहर पटायामा वाकिङ स्ट्रिट नजिकै भएको थियो।
यो घटना मसाजको सेवा शुल्क तिर्न अस्वीकार गरेको आरोपमा भएको बताइएको छ।
यो घटना क्यामेरामा कैद भएको छ र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। भिडियोमा तीन ट्रान्सजेन्डर महिलाहरूले ५२ वर्षीय भारतीय नागरिक राज जसुजासँग पैसा मागिरहेको देखिन्छ।
जब उनले पैसा तिर्न अस्वीकार गरेर कारमा भाग्न खोजे तब उनीहरूले साथीहरू बोलाएर कारबाट निकालेर कुटपिट गरे।
उद्धार टोलीले जसुजालाई घटनास्थलबाट उद्धार गरेका थिए, जसको अनुहार र टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि पट्टामाकुन अस्पताल लगिएको थियो।
थाई प्रहरीले जसुजा पूर्ण रूपमा निको भएपछि औपचारिक उजुरी दर्ता गर्न लगाउने र त्यसपछि थाई कानून अनुसार अनुसन्धान गर्ने बताएको छ। प्रहरीले सिसिटिभी फुटेज र साक्षीहरूको बयान जाँच गरिरहेको छ।
पटायामा भारतीय पर्यटकहरूमाथि यस्ता घटना पहिले पनि भएका छन्, जसले पर्यटक सुरक्षा बारे चिन्ता बढाएको छ।
प्रकाशित: २१ पुस २०८२ ०८:४२ सोमबार





