१५ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

कुशलको फर्किएको फर्म

कुशल भुर्तेल नेपालका भरपर्दा र आशलाग्दा ओपनर हुन् । तर पछिल्लो समय उनको खराब फर्मले उनको बिष्फोटक ब्याटिङ र धारिलो बलिङको खिल्ली उडाइरहेको थियो । २८ वर्षे यी युवाले जब खुलेर ब्याट चलाउँछन्, नेपाल र उनी आवद्ध नेपाल पुलिस क्लबको जित निश्चित हुने गर्छ ।  

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बनमा परेपछि बलिङको समेत जिम्मेवारी सम्हाल्न थालेपछि कुशलको ब्याटिङ फर्म धरमराउन थालेको हो । राष्ट्रिय टिममा यसअघिका मुख्य प्रशिक्षक मोन्टी देशाईले कुशललाई ब्याटिङमा भन्दा बलिङमा बढी केन्द्रित गर्ने गरेको कुरा खेलाडीहरु स्वयं स्वीकार्छन् । जसका कारण उनले ब्याटिङमा भन्दा बलिङमा उम्दा प्रदर्शन गरे । नेपालले अन्तर्राष्ट्रिय म्याच खेल्दा कुशल कुनै समय मध्यक्रमको ब्याट्सम्यान बन्न पुगे भने कुनै समय बेन्चमा बसे, यो उनको खराब फर्मको परिणाम थियो । तर मोन्टीको बिदाईसँगै उनको फर्म फेरि फर्कनुलाई भने क्रिकेटका जानकारहरु आश्चर्य मान्दैनन् ।

चैतको दोस्रो साता सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कुशलले आफ्नो कौशल त्यति देखाउन सकेनन् । एक दिवसीय प्रतिस्पर्धाका समूह चरणमा उनले एकाध खेलमा मात्रै राम्रो ब्याटिङ गरे । जुनमा उनको ब्याट चल्यो उनी आवद्ध नेपाल पुलिस क्लबले सहज जित निकाल्यो । समूह चरणको आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशविरुद्ध पुलिस क्लब ८७ रनले विजयी हुँदा कुशलले ५९ रन बनाएका थिए । सो खेलमा उनले एक विकेटसमेत लिए ।  

समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीसँग ४ विकेटले पराजित हुँदा कुशलले दोहोरो अंकको स्कोर समेत गर्न सकेनन् । तर आर्मीसँगैको फाइनल भिडन्तमा पुलिसले ६ विकेटको फराकिलो जित निकाल्दा कुशलले ६१ रनको योगदान गरेका थिए ।  

दायाँ हाते ब्याट्सम्यान कुशल अहिले हङकङमा जारी चार देश सम्मिलित टी-२० आई शृंखला खेलिरहेका छन् । नेपालले आफ्ना सुरुवाती दुवै खेलमा जित निकाल्दा कुशल दुवैमा म्यान अफ द म्याच बनेका छन् ।

बुधबार नेपालले कतारलाई ८ विकेटले पराजित गर्दा कुशलले १९ बलमा ३१ रनको योगदान गरे । ओपनर कुशलले अर्का ओपनर आशिफ शेखसँग पहिलो विकेटका लागि मात्र ५.४ ओभरमा ८१ रनको विष्फोटक साझेदारी गरे । क्याप्टेन रोहित पौडेलले उनलाई बलिङ नगराएपनि फिल्डिङमा उनी सक्रिय देखिन्थे ।  

शृंखलामा नेपालले लगातार दोस्रो जित निकाल्ने क्रममा बिहीबार कुवेतलाई ६ विकेटले हरायो । यो खेलमा पनि कुशल भुर्तेल नै म्यान अफ द म्याच बने । मात्र ५० बलको सामना गरेका उनले ६ छक्का र ६ चौकाको मद्दतमा विष्फोटक ८१ रनको पारी खेले । आशिफसँग उनले पहिलो विकेटका लागि १३.५ ओभरमा १२७ रनको साझेदारी गरे । १५.३ ओभरसम्म क्रिजमा टिकेका उनले कुवेतविरुद्ध नेपाली अन्य बलरले भन्दा किफायती बलिङ गरे । आफ्नो स्पेलमा ६.७५ को औसतमा २७ रन खर्चेर एक विकेट लिए ।  

अब नेपालले शनिबार आयोजक हङकङसँग खेल्नेछ । यो खेलमा जित निकाल्न सके नेपाल अपराजित रहँदै फाइनलमा पुग्नेछ । शनिबार नै बिहान हुने अर्को खेलमा कुवेतविरुद्ध कतार विजयी भए नेपाल एक खेल अगावै फाइनलमा पुग्नेछ ।  

सन् २०२१ को सेप्टेम्बरमा पीएनजीविरुद्ध एकदिवसीय र सोही वर्षको अप्रिलमा कीर्तिपुरमा नेदरल्यान्ड्सविरुद्धको टी२० आईबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेका हुन् ।  

५७ वटा एकदिवसीयमा उनले १ हजार २८५ रन बनाएका छन्, जसमा उनको एक इनिङ्समा उच्च स्कोर ११५ रन छ । ५५ वटा टी२०आई खेलेका कुशलले १ हजार ४१७ रन बनाउँदा एक इनिङ्समा नटआउट १०४ रनको उच्च स्कोर छ । ५५ खेलमा १० वटा अर्धशतक बनाउन कुशल टी२० आईमा सबैभन्दा धेरै अर्धशतक बनाउने नेपाली खेलाडी पनि हुन् । बलिङमा पनि उनले एकदिवसीयमा १६ र टी२०आई मा २० विकेट चट्काएका छन् । 

प्रकाशित: २८ चैत्र २०८१ १७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App