युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो-हलिउडले आफ्नो स्थापनाको ३०औ वार्षिकोत्सव मनाउने तयारी गरेको छ।
युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा स्थापना गरेका हुन्। ‘निकै उत्साहित र व्यग्र प्रतीक्षामा छौ। यो तीन दशकको यात्रालाई हामी भव्य रूपमा स्मरण गर्दै छाैं।’
युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडका सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भने। महर्जनका अनुसार मे महिनाको १६ देखि १८ तारिख तीन दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइनेछ।
‘हाम्रो स्थापना मार्चमा हो, त्यो समयमा मौसम पनि अलिक चिसो हुने र बाहिरबाट आएका पाहुँनाहरूको आतिथ्यतालाई पनि प्रभाव पार्ने भएकाले मे महिनामा वार्षिकोत्सव मनाउने निर्णय गरेका हौं,’ उनले भने।
प्रशिक्षक महर्जनले यस पटकको वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय सहभागिता हुने बताए। ‘तिसौँ वर्षगाँठ भएकाले पनि विशेष छ, त्यसमा पनि यस पटक अमेरिकाका विभिन्न राज्य र अमेरिकाबाहिरबाट पनि पाहुनाहरू आउँदै हुनुहुन्छ,’ उनले भने, ‘विशेष गरी कोरियाबाट कुकिवान ग्रान्ड मास्टरको सहभागिता हुनेछ।’
वार्षिकोत्सवका लागि कोरियासहित अस्ट्रेलिया, क्यानडा र नेपालबाट पनि सहभागी हुने कार्यक्रम छ। प्रशिक्षक महर्जनले सुरुका दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुने बताए। ‘तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्ड मास्टरहरूले सेमिनारमा सबैलाई अपडेट गर्नेछन् र ब्ल्याक बेल्टदेखि माथिका डान टेस्ट परीक्षा पनि हुनेछ।’
महर्जनले भने, ‘त्यसपछि हामीले सांस्कृतिक कार्यक्रम पनि गर्नेछाैं, हामी तेक्वान्दोसँगसँगै नेपाली संस्कृतिको संवर्धनमा पनि उत्तिकै सक्रिय छौं।’
वार्षिकोत्सवमा विभिन्न अवार्ड प्रदान गरिनेछ। स्टुडेन्ट अफ मन्थ, ब्याल्कबेल्ट अफ दी इयर, फ्यामेली अफ दी इयर र भोलेन्टियर अफ दी इयर गरी चार अवार्ड वार्षिकोत्सवमा प्रदान गरिनेछ।
प्रकाशित: २८ चैत्र २०८१ ०८:२० बिहीबार





